सिन्धुली,१० पुस — नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, केराबारीमा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको दोस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ । तीन सातासम्म चलेको तालिमको समापनसँगै बिहीबार आयोजित दीक्षान्त समारोहमा ५ सय ४० जना क्याडेट दीक्षित भएका छन् । देशका विभिन्न जिल्लाका १८ वटा विद्यालयबाट सहभागी क्याडेटहरूले अनुशासन, नेतृत्व, राष्ट्रसेवा र शारीरिक तथा मानसिक क्षमताको अभ्याससहित तालिम पूरा गरेका हुन् ।
पूर्वी तालिम शिक्षालयका अनुसार प्रत्येक विद्यालयबाट ३०–३० जना क्याडेट सहभागी गराइएकामा १५ जना छात्र र १५ जना छात्रा समावेश थिए । तालिम अवधिभर क्याडेटहरूलाई सैनिक जीवनशैली, आधारभूत तालिम, शारीरिक दक्षता, कवाज, प्राथमिक उपचार, राष्ट्रिय भावना र सामूहिक नेतृत्व विकाससम्बन्धी अभ्यास गराइएको थियो । तालिम सफलतापूर्वक पूरा गरेका क्याडेटहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई विशेष पुरस्कारसमेत वितरण गरिएको छ ।
तालिमका क्रममा छात्रातर्फ सैनिक आवासीय महाविद्यालयकी क्याडेट सुम्निमा लिम्बू सर्वोत्कृष्ट घोषित भइन् भने छात्रतर्फ पशुपति इङ्लिस बोर्डिङ स्कुल, इटहरीका क्याडेट आयुश राई उत्कृष्ट बने । सहभागी १८ विद्यालयमध्ये सिन्धुलीस्थित आधुनिक बोर्डिङ स्कुलले समग्र प्रदर्शनका आधारमा सर्वोत्कृष्ट प्लाटुनको उपाधि हात पार्दै प्रशंसा बटुलेको छ । विद्यालयले अनुशासन, समन्वय, कवाज र समग्र प्रस्तुतिमा उत्कृष्टता देखाएको नेपाली सेनाले जनाएको छ ।
दीक्षान्त समारोह तथा कवाजको सलामी ग्रहण नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर, इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै उपरथी केसीले क्याडेटहरूलाई राष्ट्रिय एकता, अनुशासन र जिम्मेवारीको भावना आत्मसात् गर्दै भविष्यमा देश र समाजको सेवामा समर्पित हुन आग्रह गरे । उनले यस्ता तालिमले युवामा नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रप्रतिको कर्तव्यबोध विकास गर्ने उल्लेख गरे ।
समारोहका क्रममा दीक्षित क्याडेटहरूले खुकुरी डिल, तेक्वान्दो पिटी तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै तालिम अवधिमा सिकेका सीप प्रदर्शन गरेका थिए । अभिभावक र अतिथिहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा क्याडेटहरूको प्रस्तुतीले दर्शकको ध्यान तानेको थियो ।
नेपाली सेनाले देशभरका सरकारी तथा निजी विद्यालयका छात्रछात्रालाई सहभागी गराउँदै राष्ट्रिय सेवा दल तालिम निरन्तर सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत माध्यमिक तहका विद्यार्थीलाई जुनियर डिभिजन र उच्च माध्यमिक तहका विद्यार्थीलाई सिनियर डिभिजन तालिम प्रदान गरिन्छ । सेनाले यस्ता कार्यक्रममार्फत युवालाई अनुशासित, सक्षम र राष्ट्रसेवाप्रति प्रतिबद्ध नागरिक बनाउने लक्ष्य लिएको जनाएको छ ।