सिन्धुली,१० पुस – सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सिन्धुलीको भिमान क्षेत्रमा सवारी चालक लक्षित स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमानको संयुक्त पहलमा गरिएको परीक्षणका क्रममा लागुऔषध सेवन गरेको आशंकामा तीन जना सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिहिवार बिहान करिब ९ बजे कमलामाई नगरपालिका–९ भिमान बसपार्कस्थित बीपी राजमार्ग क्षेत्रमा उक्त अभियान सञ्चालन गरिएको हो । बीपी राजमार्ग तथा मदन भण्डारी राजमार्ग हुँदै सञ्चालन हुने ठूला तथा साना गरी जम्मा ४३ वटा सवारी साधनका चालकलाई स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रममा सहभागी गराइएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटनाको प्रमुख कारणमध्ये एक मानिने लागुऔषध सेवनको अवस्था पहिचान गर्न ला.प.से (THC Rapid Test) विधिबाट चालकहरूको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना चालकको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ ।
नियन्त्रणमा लिइनेहरूमा जनकपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ३ ख ४९८० नम्बरको बस चालक धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–९ निवासी अन्दाजी ५२ वर्षका विजय कुमार ठाकुर रहेका छन् । त्यस्तै, बर्दीबासबाट सिन्धुलीतर्फ आउँदै गरेको म.प्र.०४–००१ ख ०१५५ नम्बरको ट्रक चालक सर्लाही जिल्लाको बाग्मती नगरपालिका–४ निवासी अन्दाजी ३० वर्षका शम्भु विक तथा जनकपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख १८०२ नम्बरको बस चालक धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–४ निवासी अन्दाजी ४५ वर्षका सुरेश यादव रहेका छन् ।
संयुक्त टोलीको कमाण्ड जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक विमल खतिवडाले सम्हालेका थिए भने इलाका प्रहरी कार्यालय भिमानका प्रहरी निरीक्षक राजु के.सी. खत्री, ट्राफिक प्रहरी निरीक्षक मोहम्मद कलिम अन्जुमसहित ११ जनाको प्रहरी टोली अभियानमा खटिएको थियो ।
प्रहरीका अनुसार यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा यात्रु मात्र होइन, समग्र सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्ने भएकाले यस किसिमका परीक्षण र सचेतना कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।