शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तिवारी

बुधवार , पौष ९, २०८२

सिन्धुली,९ पुस — जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत किरण निधि तिवारीले कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रशासनिक सेवामा अनुभव र नेतृत्व क्षमताका कारण परिचित तिवारीको नियुक्तिसँगै नगरपालिकाको प्रशासनिक व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहँदा तिवारीले शान्ति सुरक्षा समन्वय, प्रशासनिक सेवा प्रवाहको सुधार, सुशासन प्रवद्र्धन र नागरिकमैत्री प्रशासन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सेवाग्राहीको गुनासो सम्बोधनदेखि कार्यालयभित्रको कार्यसंस्कृति सुधारसम्म उनले देखाएको तत्परता र अनुशासनप्रति कर्मचारी तथा सर्वसाधारणले सकारात्मक प्रतिक्रिया जनाउँदै आएका छन्। समयमै निर्णय गर्ने क्षमता, कानुनी प्रक्रियाप्रतिको सम्मान र जिम्मेवारीप्रतिको प्रतिबद्धता उनका कार्यकालका विशेषता मानिन्छन् ।

कमलामाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा तिवारीले स्थानीय सरकार सञ्चालनका प्रमुख पक्ष—प्रशासनिक व्यवस्थापन, सेवा प्रवाहको गुणस्तर सुधार, विकास निर्माण योजनाको कार्यान्वयन तथा वित्तीय अनुशासन—लाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । नगरपालिकाभित्रका विभागबीच समन्वय सुदृढ गर्दै पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न उनको अनुभव उपयोगी हुने विश्वास लिइएको छ ।

स्थानीय तहमा सेवा प्रवाह प्रभावकारी बनाउने, डिजिटल प्रणालीको प्रयोग विस्तार गर्ने, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य बढाउने तथा नागरिक सहभागितामार्फत सुशासन प्रवद्र्धन गर्ने विषयमा तिवारीले पहल गर्ने संकेत दिएका छन् । विकास आयोजनामा गुणस्तर, समयपालन र सार्वजनिक सुनुवाइलाई प्राथमिकता दिँदै नगरवासीको विश्वास जित्ने लक्ष्यसहित काम अघि बढाइने बताइन्छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयबाट तिवारीको बिदाइ अवसरमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहितका कर्मचारीहरूले ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा तिवारीको योगदानको प्रशंसा गर्दै आगामी जिम्मेवारीमा पनि उस्तै सक्रियता र परिणाममुखी कार्यशैली देखाउने अपेक्षा व्यक्त गरिएको थियो ।

प्रशासनिक क्षेत्रमा हासिल गरेको अनुभव र नेतृत्व क्षमताका आधारमा कमलामाई नगरपालिकाको सेवा प्रवाह र सुशासन थप सबल हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया