सिन्धुली,८ पुस – कमलामाई नगरपालिका–४ धुराफाँटमा २३ वर्षीया शुशिला बम्जनको आफ्नै घरभित्र जिउँदै जलाएर हत्या गरिएको घटनाले सिन्धुलीसहित सिंगो समाजलाई स्तब्ध बनाएको छ । पुस ६ गते आइतबार घटेको उक्त घटनालाई अमानवीय र क्रूर भन्दै सिन्धुलीका बिभन्नि राजनिक दलका महिला संंगठन हरूले दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
पीडित युवती आफ्नै परिवारका सदस्यबाट आगो लगाइएर मारिएको प्रारम्भिक विवरण बाहिर आएपछि घटनाले महिला सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । घरभित्रै, त्यो पनि परिवारकै सदस्यबाट महिलामाथि यस्तो हिंसा हुनु अत्यन्तै निन्दनीय भएको महिला अधिकारकर्मीहरूको भनाइ छ ।
घटनाप्रति गम्भीर आपत्ति जनाउँदै मंगलवार नेपाल महिला संघ सिन्धुली , अखिल नेपाल महिला संघ सिन्धुली र अखिल नेपाल महिला संघ (क्रान्तीकारी) सिन्धुलीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा संयुक्त रूपमा ज्ञापनपत्र पेश गरेका छन् । उनीहरूले कुनै पनि किसिमको प्रभाव, दबाब वा हस्तक्षेप बिना निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न सबै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, “निहत्था महिलामाथि आफ्नै घरभित्र गरिएको यस्तो अमानवीय व्यवहारले महिलाको बाँच्न पाउने अधिकारको घोर उल्लंघन गरेको छ । यसले सिंगो महिला समुदायलाई असुरक्षित महसुस गराएको छ।” साथै पीडित परिवारलाई तत्काल न्याय दिलाउन राज्यका सम्बन्धित निकायले छिटो कदम चाल्नुपर्ने मागसमेत गरिएको छ ।
महिला संगठनहरूले घरेलु हिंसाका यस्ता घटनाहरू बारम्बार दोहोरिन नदिन प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूका अनुसार महिलामाथि हुने हिंसा व्यक्तिगत मात्र नभई सामाजिक समस्या भएकाले राज्यको गम्भीर हस्तक्षेप आवश्यक छ ।
ज्ञापनपत्रमा नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष गंगा दाहाल, अखिल नेपाल महिला संघ सिन्धुलीकी सचिव तुलसा कार्की र अखिल नेपाल महिला संघ (क्रान्तीकारी) उपाध्यक्ष बबिता गौतमको हस्ताक्षर छ । उनीहरूले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रिया अघि बढाउन जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् ।