सिन्धुली,८ पुस – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झागाझोलीस्थित बी.पी. राजमार्ग सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । नेपालथोकबाट रातामाटातर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा सुनकोशी गाउँपालिका–२ निवासी २२ वर्षीय किशोर माझी घाइते भएका छन् । उनले चलाएको बा ८७ प ९३७ नम्बरको मोटरसाइकल मंगलवार दिउँसो करिब १ः१५ बजे अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनापछि माझीको शरीरमा बाहिरी तथा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइते माझीलाई तत्काल स्थानीय प्रधान मेडिकल, रातामाटामा सामान्य उपचार गरिएपछि थप उपचारका लागि दिउँसो करिब २ः३० बजे धुलिखेलतर्फ रिफर गरिएको थियो । करिब ३ः३० बजे धुलिखेल अस्पताल पुगेपछि चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताएका छन् । हाल उनी अस्पतालमै उपचाररत छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रातामाटाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपचार प्रक्रियामा घाइतेका बुबा संलग्न रहेको समेत प्रहरीले जनाएको छ ।