सिन्धुली,८ पुस – माइती नेपालद्वारा सञ्चालन गरिरहेको चारदिने जनचेतनामूलक कार्यक्रमको दोस्रो दिन आज मंगलवार सिन्धुलीको भिमानस्थित जनजागृति माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ । ‘चाइल्ड एन्ड गल्र्स रेस्क्यु प्रोजेक्ट’को सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम विद्यार्थी केन्द्रित जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता माइती नेपालकी आश्रय विभाग अधिकृत बिनिता श्रेष्ठले गरेकी थिइन भने प्रमुख अतिथिका रूपमा कमलामाई नगरपालिका–९ का वडा अध्यक्ष विनोद प्रधान सहभागी भएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, प्रधानाध्यापक कृष्णप्रसाद निरौला तथा शिक्षक–शिक्षिकाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई मानव बेचबिखन, घरेलु हिंसा तथा सुरक्षित आप्रवासनका विषयमा सचेत गराउनु रहेको थियो । अध्यक्ष श्रेष्ठले बालबालिका तथा किशोरकिशोरीहरूलाई सम्भावित जोखिमबारे समयमै जानकारी दिनु आवश्यक रहेको बताउँदै सचेतनाले मात्र सुरक्षित भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गरे । प्रमुख अतिथि प्रधानले पनि विद्यालय तहबाटै यस्ता विषयमा चेतना फैलाउनु समाजका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमको आकर्षक पक्षका रूपमा माइती नेपालको महिला पुनर्वास केन्द्र तथा बाल संरक्षण गृहमा आश्रित बालबालिकाहरूले मानव बेचबिखन र घरेलु हिंसाविरुद्ध सन्देश दिने नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । ती प्रस्तुतीहरूले सहभागी विद्यार्थीहरूलाई गहिरो प्रभाव पारेको आयोजकले जनाएको छ ।
यसै क्रममा सहभागीहरूलाई सूचना, शिक्षा तथा सञ्चार (आईईसी) सामग्रीहरू समेत वितरण गरिएको थियो। माइती नेपालले यस्ता कार्यक्रममार्फत सिन्धुली जिल्लाका विभिन्न समुदायमा मानव बेचबिखन, घरेलु हिंसा तथा सुरक्षित आप्रवासनसम्बन्धी जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।