शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाई महिलाको हत्या, दुई जना पक्राउ

मंगलवार , पौष ८, २०८२

सिन्धुली ,८ पुस — सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा पेट्रोल छर्केर आगो लगाई एक महिलाको ज्यान गएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको प्रारम्भिक अनुसन्धानपछि दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार यही पुस ६ गते दिउसो करिब ४ः३० बजेको समयमा कमलामाई नगरपालिका–४ धुराफाँट बस्ने वर्ष ६२ का दुर्गामान बम्जनको २.५ तल्ले घरको बिच तल्लाको पुर्व साइडमा रहेको भान्सा कोठाभित्र पेट्रोल छर्केर आगो लगाइएको थियो । आगलागीमा परी दुर्गामान बम्जनकी बुहारी वर्ष ३२ की सुशिला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । साथै दुर्गामान बम्जन गम्भीर घाइते भएका थिए । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको अवस्था देखिएपछि उपचारका लागि सिन्धुली अस्पताल पठाइएको थियो ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल रहेको बोतल, आधा जलेको बोतल, पेट्रोलले भिजेको कपडा, लाइटर तथा भाँडाकुँडा जाँच मुचुल्का गरी संकलन गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको थियो ।

घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले तत्काल मृतककी सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका ४ स्थाई घर भईकमलामाई नगरपालिका ४ बस्ने दुर्गामान बम्जनको श्रीमती मृतककी सासु वर्ष ५९ की माया रानी बम्जन र सोही ठाउँ बस्ने मृतकको नन्द वर्ष ३५ की मीना लामा (बम्जनलाई) लाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामाले मृतक सुशीला बम्जनलाई पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मृतकका बुबा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका ४ बस्ने प्रेमबहादुर घिसिङले पुस ०७ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा माया रानी बम्जन र मीना लामा समेतको नाममा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाको वास्तविक कारण र संलग्न अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया