शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

तिनपाटन गाउँपालिकामा कृषि सामग्री वितरण

मंगलवार , पौष ८, २०८२

सिन्धुली,८ पुस– सिन्धुलीको तिनपाटन गाउँपालिकामा कृषि तथा पशु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ साल पौष ७ गते तिनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा हाम्रो प्रयास नेपाल, सिन्धुलीको सहकार्यमा सञ्चालन भइरहेको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान र युवा उद्यमशीलता विकास परियोजना’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

तिनपाटन गाउँपालिका–११ लाम्पन्टारस्थित गाउँपालिका कार्यालयमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षता रहेको थियो ।

परियोजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा ७ हर्स पावर डिजेल इन्जिन जडित ३१ वटा हाते ट्र्याक्टर समूहका सदस्यहरूलाई वितरण गरिएको छ । ती ट्याक्टरहरूको कुल लागत रु. १५ लाख ११ हजार २५० रहेको छ । त्यसैगरी, १०० प्रतिशत अनुदानमा रु. १ लाख ६९ हजार ५०० बराबरका २० वटा स्टिल मिल्क क्यान वितरण गरिएको छ ।

तरकारी खेती प्रवर्द्धनका लागि रु. १ लाख ३२ हजार २१० लागतका १८ वटा प्लास्टिक टनेल तथा रु. १ लाख १ हजार ७ सय बराबरको मल्चिङ सामग्रीसमेत समूहका सदस्यहरूलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत मनोज शाह, तिनपाटन गाउँपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरू, गाउँपालिका सदस्यहरू तथा सम्बन्धित शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । साथै हाम्रो प्रयास नेपाल, सिन्धुलीका अध्यक्ष गंगा दाहाल, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत ठाकुर खड्का, परियोजनाका कर्मचारीहरू तथा समूहमा आबद्ध दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता सहयोगमूलक परियोजनाले साना किसान तथा युवाहरूलाई व्यावसायिक कृषि र पशुपालनतर्फ आकर्षित गर्ने, स्थानीय उत्पादन वृद्धि गर्ने र रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया