सिन्धुली,७ पुस – मानव बेचबिखन, घरेलु हिंसा तथा असुरक्षित वैदेशिक रोजगारीका कारण समाजमा देखिँदै आएका जोखिमप्रति समुदायलाई सचेत गराउने उद्देश्यले सिन्धुलीबाट चारदिने बृहत जनचेतनामूलक अभियान सुरु गरिएको छ । माइती नेपाललेFree A Girl को Down to Zero परियोजनाको सहयोगमा सञ्चालन गरेको यो अभियान पुस ७ देखि १० गतेसम्म सिन्धुली, रामेछाप र उदयपुर (गाईघाट) का विभिन्न स्थानीय तहमा सञ्चालन हुनेछ।
अभियानको सुरुवाती कार्यक्रम सिन्धुलीको खुर्कोटस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई केवल औपचारिक भाषणमा सीमित नराखी, कला र सन्देशको संयोजनमार्फत प्रभावकारी बनाइएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा माइती नेपालका महिला पुन:स्थापना केन्द्र र बाल संरक्षण गृहमा आश्रित महिला तथा बालबालिकाले प्रस्तुत गरेको नाटक र नृत्यले दर्शकलाई भावनात्मक रूपमा छोएको थियो । ती प्रस्तुतिहरूमार्फत मानव बेचबिखनका जालो, घरेलु हिंसाले पार्ने दीर्घकालीन असर तथा असुरक्षित वैदेशिक रोजगारीका पीडादायी अनुभवलाई सरल र जीवन्त ढंगले प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा माइती नेपालकी अधिवक्ता सजनी जोशीले मानव बेचबिखन र घरेलु हिंसाविरुद्ध समुदायको भूमिका निर्णायक हुने बताइन । उनले सुरक्षित बसाइँसराइका लागि सही सूचना, कानुनी जानकारी र सतर्कताको आवश्यकता औंल्याउँदै, “समयमै सचेतना अपनाउन सके धेरै जोखिम टार्न सकिन्छ,” भनिन । विशेषगरी युवायुवती, महिला र अभिभावकले वैदेशिक रोजगारीका नाममा हुने प्रलोभनबाट सचेत रहनुपर्नेमा उहाँको जोड थियो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको समेत सक्रिय उपस्थिति रहेको थियो । सचेतनालाई थप प्रभावकारी बनाउन सूचना, शिक्षा तथा सञ्चार (IEC) सामग्रीहरू वितरण गरिएको थियो, जसले अभियानको सन्देशलाई विद्यालय बाहिर समुदायसम्म विस्तार गर्ने अपेक्षा गरिएको छ ।
माइती नेपालका अनुसार यो अभियानको मुख्य लक्ष्य समुदायस्तरमै चेतना अभिवृद्धि गर्दै महिला तथा बालबालिकालाई मानव बेचबिखन, घरेलु हिंसा र असुरक्षित वैदेशिक रोजगारीका जोखिमबाट जोगाउनु हो । अभियानले स्थानीय तहमा संवाद, सतर्कता र सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।