काठमाडौं,७ पुस – सामान्य देखिने एउटा चप्पल अन्ततः दुई युवकको निर्मम हत्याको रहस्य खोल्ने आधार बन्यो । ललितपुर र भक्तपुरका जंगलमा दुई दिनको अन्तरालमा भएका दुई छुट्टाछुट्टै हत्या, गहिरिएर जाँदा एउटै योजनाको परिणाम भएको खुलेको छ । करिब ११ लाख रुपैयाँ ऋण तिर्न नपरोस् भन्ने सोचले रचिएको यो जघन्य अपराधले प्रहरी अनुसन्धानलाई समेत चकित पारेको छ ।
प्रहरीका अनुसार सिन्धुलीको सिन्धुली गोलन्जोर गाउँपालिका घर भएका देवराज ढुंगेल (रमेश) र उनका साथी जयराम अधिकारी मिलेर सिन्धुलीकै गोलन्जोर–५ का केशवराज हायु र भोजपुरका २१ वर्षीय पारुहाङ राईको हत्या गरेका हुन् । केशवराज देवराजका जेठान पर्छन् । ऋणको लेनदेनबाट सुरु भएको यो सम्बन्ध अन्ततः हत्या योजनामा परिणत भएको प्रहरीको निष्कर्ष छ ।
देवराजले करिब चार महिनाअघि आफ्नी श्रीमतीलाई जापान पठाउन विभिन्न व्यक्तिसँग ऋण लिएका थिए । त्यही ऋण तिर्न उनले आफ्नै जेठान केशवराजसँग ६ लाख र छिमेकी कृषि फार्म चलाउँदै आएका पारुहाङसँग ५ लाख रुपैयाँ ऋण लिएको अनुसन्धानमा खुलेको छ । ऋण फिर्ता माग्न थालेपछि देवराजले ‘ऋण सक्ने’ उपायका रूपमा हत्या नै रोजेको प्रहरी बताउँछ ।
प्रहरी अनुसन्धानअनुसार देवराजले पहिलो लक्ष्य आफ्नै जेठान केशवराजलाई बनाए । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा देवराज र केशवराज मिलेर कृषि फार्म चलाउँदै आएका थिए । एकदिन ‘डाँडातिर रमाइलो गर्न जाने’ प्रस्ताव देवराजले राखे । जेठानको विश्वास जितेर उनीहरू जयराम अधिकारीसहित ज्यामिरे क्षेत्रको जंगल पुगे । मदिरा सेवनपछि केशवराज नशामा लट्ठ भएको मौका छोपी झोलामा बोकेको ह्याम्मरले टाउकोमा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । त्यसपछि शवको हातखुट्टा बाँधेर जंगलमै छाडिएको थियो ।
केशवराजको हत्या सफल भएपछि देवराज थप ढुक्क बने । तर पारुहाङसँगको ५ लाख ऋण बाँकी नै थियो । त्यसैले भोलिपल्ट उस्तै शैलीमा पारुहाङलाई पनि हत्या गर्ने योजना बनाइयो । २५ मंसिरमा ‘डाँडामा घुम्न जाने’ बहानामा पारुहाङलाई ललितपुर–भक्तपुर सिमानाको सूर्यविनायक–७ स्थित जंगल लगियो । मदिराले लट्ठ भएपछि ह्याम्मरले प्रहार गरी उनको पनि हत्या गरियो । शवलाई प्लास्टिकले प्याक गरी भिरबाट खसालिएको प्रहरीले बताएको छ ।
पहिलो हत्या भएको दुई दिनपछि, जंगलमा शव देखिन सक्ने आशंकाले अभियुक्तहरूले केशवराजको शव पुनः उठाए । २६ मंसिरको मध्यराति शव बोरामा हालेर मोटरसाइकलमार्फत उनीहरूले पहिले नै बेचिसकेको शेरफाँटको कृषि फार्मको इनारमा फालिएको अनुसन्धानबाट खुलेको छ । देवराजले मोटरसाइकल चलाउने र पछाडि जयराम बसेर शव बोकेको प्रहरीको भनाइ छ ।
केशवराज र पारुहाङ दुवै सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको निवेदन दिएका थिए । त्यसैबीच शेरफाँटको कृषि फार्मको इनारमा शंकास्पद बोरा देखिएपछि प्रहरी पुग्दा केशवराजको शव भेटियो । तर पारुहाङको अवस्थाबारे अझै कुनै जानकारी थिएन ।
इनार नजिकै भेटिएको एउटा चप्पल सुरुमा सामान्य प्रमाण जस्तै देखिएको थियो । तर पछि यही चप्पल अनुसन्धानको निर्णायक आधार बन्यो । केशवराज लिभिङ टुगेदरमा थिए । उनीसँगै फार्मको छाप्रोमा उनकी प्रेमिका पनि बस्थिन् । प्रेमिकासँग विवाद भएपछि उनी सिन्धुली गए । लामो समयसम्म पनि ललितपुर फर्केनन् । त्यसपछि रिसले एक दिन केशवराजकी प्रेमिकाले टहरो तोडफोड गर्न थालिन् ।
त्यसको भिडियो देवराजले बनाएका थिए । उक्त भिडियो उनले जापानमा रहेकी आफ्नी श्रीमतीलाई समेत पठाएका थिए । यता, हराएको भनिएका केशवराजको शव २ पुसमा इनारभित्रबाट प्रहरीले निकाल्यो । शव फालिएको इनार नजिकै एउटा चप्पलसमेत भेटिएको थियो । प्रहरीले उक्त चप्पललाई आधार मानेर पनि अनुसन्धान ग¥यो । तर चप्पल कसको हो भन्ने खुल्न सकेको थिएन ।
यहीबीचमा टहरो भत्काउँदै गरेको भिडियो आफन्तमार्फत प्रहरीमा पुग्यो । उक्त भिडियोमा क्राइम सिनमै फेला परेको चप्पल देखियो । भिडियोमा देखिएको चप्पल र क्राइम सिनमा फेला परेको चप्पल म्याच खायो । त्यसपछि उक्त चप्पल भिडियो खिच्ने देवराजकै रहेको पहिचान भयो । त्यसपछि अनुसन्धान लगभग निष्कर्ष प्रहरीले निकालेको थियो ।
देवराजको डेरामा गरिएको खोजतलासमा रगत लागेको कपडा, भाँचिएको ह्याम्मर र टेप फेला परे । शव बाँध्न प्रयोग गरिएको टेप र कोठामा भेटिएको टेपसमेत मिलेको प्रहरीले जनाएको छ । यद्यपि देवराजले अन्तिमसम्म हत्या अस्वीकार गरिरहे । कोठाबाट सबुद प्रमाण भेटिँदासमेत देवराजले घटना अस्वीकार गरिहेका थिए । यता, प्रहरीले प्राविधिक कोणबाट पनि अनुसन्धान गरिरहेको थियो । प्राविधिक अनुसन्धानबाट खुल्यो देवराजसँगै घटनास्थलमा अर्का व्यक्ति पनि थिए, जयराम अधिकारी ।
उनीहरू दुईबीच मोबाइलमा सम्पर्क भएको देखियो । यति हुँदा पनि देवराजले अधिकारीबारे केही थाहै नभएको दाबी गरिरहे । प्राविधिक अनुसन्धानमा घटनास्थलमा देवराजसँगै जयराम पनि रहेको पुष्टि भएपछि सिन्धुली प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई राति १० बजे अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं ल्याएको थियो । प्रारम्भिक सोधपुछकै क्रममा उनले केवशराजको हत्या स्वीकार मात्रै गरेनन्, सँगै अर्का व्यक्ति पनि हत्या भएको खुलासा गरे । प्रारम्भिक बयानमै जयरामले केशवराजको हत्या मात्र होइन, पारुहाङको हत्या पनि स्वीकार गरे । उनको बयानकै आधारमा सूर्यविनायक–७ को जंगलबाट पारुहाङको शव फेला परेको हो ।
प्रहरीका अनुसार जयराम आर्थिक समस्यामा थिए । देवराजले हत्या गरेबापत २ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । तर अन्ततः १० हजार रुपैयाँ मात्रै दिएर उनलाई घर फर्काइएको जयरामको स्वीकारोक्ति छ ।
यो घटनाले ऋणको दबाब, लोभ र विश्वासघात कति भयावह हुन सक्छ भन्ने देखाएको प्रहरी अधिकारीहरू बताउँछन् । आफ्नै जेठान र विश्वासिला साथीको हत्या गरी ऋणबाट मुक्त हुने सोच अन्ततः प्रमाणले घेरिँदा भत्किएको छ । सामान्य चप्पलदेखि प्राविधिक विवरणसम्मले जोडिँदै जाँदा दुई दिनमा दुई युवकको ज्यान लिने योजना सार्वजनिक भएको छ । प्रहरीले दुवै अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।