शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका हायु हत्या प्रकरण झन् पेचिलो, साथीको पनि शव फेला

सोमवार , पौष ७, २०८२

काठमाडौँ,७ पुस– सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थायी घर भएका २५ वर्षीय केशवराज हायुको हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले अर्को युवकको शव फेला पारेसँगै घटनाले नयाँ मोड लिएको छ । ललितपुरको लाकुरी भन्ज्याङस्थित जंगल क्षेत्रमा सोमबार बिहान फेला परेको शव भोजपुर स्थायी घर भएका पारुहाङ राईको भएको प्रहरीले पुष्टि गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले जंगलभित्रको दुर्गम स्थानमा शव फेला पारेको हो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार शव बरामद गरी प्रारम्भिक अनुसन्धान थालिएको छ । घटनास्थलको प्रकृति र शवको अवस्थाले दुवै घटना आपसमा सम्बन्धित हुनसक्ने संकेत गरेको प्रहरीको भनाइ छ ।

यसअघि हायुको शव ललितपुरको लुभु क्षेत्रमा रहेको एक कृषि फार्मको इनारमा फ्याँकेको अवस्थामा फेला परेको थियो । सो घटनामा प्रहरीले हायुका ज्वाइँ सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले सोमवार बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको छ । जयराजले पारुहाङको पनि हत्या गरेको बताएपछि उनले भनेकै ठाउँबाट प्रहरीले शव पारुङको शव फेला पारेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुंगेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको बताए । देवराज ढुंगेल र जयराज अधिकारीले गत मंसिर २४ गते हायुको हत्या गरेको स्विकार गरेका एसएसपी रमेश बस्नेतले बताए । त्यसको भोलिपल्ट अर्थात मंसिर २५ गत पारुहाङको पनि हत्या गरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार केशवराज हायु र पारुहाङ राई दुवै जना वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । उनीहरू केही समयदेखि लुभुस्थित सोही कृषि फार्ममा काम गर्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेन, आपसी विवाद वा वैदेशिक रोजगारीसँग सम्बन्धित कारणले घटना घटेको हुनसक्ने आशंका गरिएको छ, यद्यपि प्रहरीले यसबारे आधिकारिक पुष्टि गरेको छैन ।

लाकुरी भन्ज्याङमा भेटिएको शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण र समयबारे थप स्पष्ट हुने प्रहरीको अपेक्षा छ । घटनामा संलग्न अन्य व्यक्ति पनि हुनसक्ने आशंकामा प्रहरी टोलीले अनुसन्धानको दायरा विस्तार गरेको छ ।

 

प्रतिक्रिया