सिन्धुली , ७ पुस – दुधौली नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको दिन नै नगर अस्पताल सिर्थौलीमा समेत छापा मारिएको तथ्य बाहिरिएसँगै स्थानीयस्तरमा तरंग पैदा भएको छ । तर, यति संवेदनशील विषयमा अस्पताल प्रशासन र नगरपालिकाले हालसम्म आधिकारिक रूपमा कुनै धारणा सार्वजनिक नगर्नुले घटनाप्रति थप आशंका र प्रश्न उब्जिएका छन् ।
स्रोतका अनुसार औषधि खरिद प्रक्रिया, मेडिकल सुपरिटेन्डेन्टको तलब तथा सेवा–सुविधा, साथै आवश्यक मेसिन तथा उपकरण खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगको टोली नगर अस्पतालमा पुगेको हो । तर छापा परेको लामो समय बितिसक्दा पनि अस्पताल व्यवस्थापन समिति र सम्बन्धित निकायले विषयलाई सार्वजनिक नगरी मौनता अपनाउनु अस्वाभाविक देखिएको स्थानीयको बुझाइ छ ।
अख्तियार अनुसन्धान आयोगमा अरुपतालको अनियमिताको बारेमा उजुरी परेको थियो । अख्तियारमा परेको उजुरीमा नगर अस्पतालभित्र नीतिगत र आर्थिक दुवै तहमा अनियमितता भएको आरोप लगाईएको छ । स्रोतका अनुसार उजुरीमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले नेपाल सरकारले तोकेको तलब–भत्तामै अनिवार्य दुई वर्ष सेवा गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै मासिक ४ लाख २७ हजार रुपैयाँ तलब दिइएको दाबी गरिएको छ । यस्तै, भिडियो एक्स–रे सेवामा ७० प्रतिशत शुल्क लिइएको तथा अत्यावश्यक नदेखिएको मनोचिकित्सा सेवामा चिकित्सकलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिइएको उल्लेख छ ।
त्यसैगरी अहेव र अ.न.मी. पदका लागि विज्ञापन गर्दा मासिक १८ हजार रुपैयाँ तलब तोकिएको भए पनि पछि सरकारद्वारा निर्धारित तलब–भत्ता दिइएको, समिति निर्णयअनुसार अस्पतालको आम्दानी तीन दिनभित्र बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था कार्यान्वयन नभएको तथा रकम अपचलन भएको आशंका पनि उजुरीमा समेटिएको छ ।
नीति, विधि र प्रक्रिया विपरीत पहुँचका आधारमा कर्मचारी नियुक्त गरिएको र तलब–भत्ता दोहन गरिएको आरोप लगाउँदै नियुक्तिको आधार खोजी गरी कारबाही गर्नुपर्ने माग समेत उजुरीकर्ताले गरेका छन् । उजुरीमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन भए चिकित्सकहरूले पनि सरकारले तोकेको भन्दा बढी तलब–भत्ता नखोज्ने दाबी गरिएको छ ।
यस विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बताइए पनि नगर अस्पताल प्रशासन र दुधौली नगरपालिकाले हालसम्म मौनता तोडेका छैनन् । छापा जस्तो गम्भीर विषयलाई गोप्य राख्नुले नगर अस्पतालको पारदर्शिता, जवाफदेहिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीहरूको भनाइ छ ।