सिन्धुली,६ पुस – सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा मट्टितेल तथा पेट्रोलबाट लागेको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर रूपमा घाइते भएका छन् । आइतवार अपराह्न भएको उक्त दर्दनाक घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ ।
आइतवार अपराह्न करिब साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको २.५ तल्ले पक्की घरको बीचतल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको हो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ ।
आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी शुसिला बम्जन आगोको चपेटामा परेकी थिइन् । आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमै पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई आवश्यक प्रक्रिया अघि बढाएको छ ।
उक्त घटनामा उनको ससुरा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको छ । घाइते बम्जनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाउँदै तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको प्राथमिक उपचार पश्चात् थप उपचारका लागी काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली करिब १६ः४५ बजे घटनास्थलमा पुगेर आगलागी नियन्त्रण, घाइतेको उद्धार तथा घटनास्थलको सुरक्षाका काममा जुटेको थियो ।
प्रहरीका अनुसार आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब ३ किलोमिटर उत्तर–पूर्व दिशामा पर्छ । घटनास्थलमा प्रारम्भिक मुचुल्का, शव परीक्षणका प्रक्रिया तथा प्रमाण संकलनको काम सम्पन्न भइसकेको छ भने घटनाको कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
स्थानीय बासिन्दाका अनुसार भान्सामा प्रयोग गरिने ज्वलनशील पदार्थको असावधानीपूर्ण प्रयोगका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । साँघुरो भान्सा कोठा र त्यहाँ रहेको ज्वलनशील सामग्रीले आगो फैलिन सहयोग गरेको स्थानीयको भनाइ छ । आगलागी केही समयमै घरभित्र फैलिएको भए पनि छिमेकी र प्रहरीको सहयोगमा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।
घटनापछि धुराफँटमा क्षेत्रमा शोकको माहोल छाएको छ । सुसिला बम्जनको अकस्मात् निधनले परिवार मात्र नभई छिमेकी तथा आफन्तहरू शोकाकुल बनेका छन् । घरपरिवारको दैनिक कामकाज सम्हाल्दै आएकी सुसिलाको यसरी ज्यान जानु अत्यन्त पीडादायी भएको स्थानीय बताउँछन् ।
प्रहरीले यस्ता ज्वलनशील पदार्थ प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भान्सा कोठामा मट्टितेल, पेट्रोलजस्ता पदार्थ प्रयोग गर्दा सानो लापरवाहीले पनि ठूलो मानवीय क्षति हुन सक्ने भन्दै सावधानी आवश्यक रहेको प्रहरीको भनाइ छ ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको यथार्थ कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।