सिन्धुली÷ललितपुर,६ पुस — विदेश उड्ने अन्तिम तयारीमा रहेका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ का केशवराज हायुको हत्या प्रकरणले गम्भीर मोड लिएको छ । ललितपुरमा मृत भेटिएका हायुको हत्यामा नजिकको पारिवारिक सम्बन्ध जोडिएको आशंकासहित प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार हायु बुल्गेरिया जाने तयारीमा थिए । त्यसका लागि उनले ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरेफाँटस्थित आफ्नो फार्म हाउस केही समयअघि बिक्री गरिसकेका थिए । सोही स्थानमा रहेको इनारभित्र बोरामा प्याक गरिएको अवस्थामा पुस २ गते उनको शव फेला परेको हो ।
मंसिर २४ यता परिवारसँग सम्पर्कविहीन रहेका हायुको खोजीका क्रममा स्थानीयले इनारमा शंकास्पद वस्तु तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उत्खनन गरी हेर्दा शव हायुको भएको पुष्टि भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरी अनुसन्धानअनुसार हायुको टाउकोमा गह्रौँ वस्तुले प्रहार गरी हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । शव भेटिँदा उनको कम्मरभन्दा माथिको भागमा कपडा थिएन भने खुट्टा र मुख टेपले बाँधिएको अवस्थामा फेला परेको थियो । इनारको बिर्को खुला अवस्थामा रहेको पाइएको छ । शव हाल पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न आशंकामा प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेललाई पक्राउ गरेको छ । उनी मृतक हायुका ज्वाइँ भएको प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा देवराजसहित कम्तीमा तीन जना मिलेर हत्या गरेको आशंका गरिएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार हत्या योजनाबद्ध रूपमा गरिएको देखिन्छ । आरोपीहरूले ललितपुरकै खोलानजिक मदिरा सेवनका क्रममा हत्या योजना बनाएको खुलेको छ । हत्या गरेपछि शव मोटरसाइकलमार्फत फार्म हाउसमा ल्याई इनारमा फालेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले घटनामा प्रयोग भएको ह्यामर, टेप र चप्पल बरामद गरेको छ । घटनास्थलमा फेला परेको चप्पल पक्राउ परेका ढुंगेलकै भएको पुष्टि भइसकेको छ । हत्यामा संलग्न अन्य दुई जना भने फरार छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फरार आरोपीहरूको पहिचान भइसकेको र खोजी तीव्र पारिएको छ । घटनाको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले गरिरहेको छ ।