शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा डेढ वर्षमै २५० ल्यापारोस्कोपिक अपरेसन

आइतवार , पौष ६, २०८२

सिन्धुली,६ पुस –सिन्धुली अस्पतालले आधुनिक स्वास्थ्य सेवामा उल्लेखनीय उपलब्धि हासिल गर्दै डेढ वर्षको अवधिमै २५० वटा ल्यापारोस्कोपिक शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सानो चिरफारमार्फत गरिने, कम पीडा हुने र छिटो निको हुने यो प्रविधिले जिल्लाको स्वास्थ्य सेवामा नयाँ युगको सुरुआत गराएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अस्पतालमा सञ्चालनमा आएको ल्यापारोस्कोपिक सेवाअन्तर्गत पित्तथैली (कोलेसिस्टेक्टोमी), एपेन्डिक्स, हर्निया तथा एक्टोपिक प्रेग्नेन्सीजस्ता जटिल शल्यक्रियाहरू नियमित रूपमा भइरहेका छन् । यसअघि यस्ता शल्यक्रियाका लागि बिरामीहरू काठमाडौंका सरकारी अस्पतालमा लामो समयसम्म पालो कुर्न बाध्य हुन्थे। कतिपय अवस्थामा निजी अस्पतालमा महँगो खर्च बेहोर्नुपर्ने बाध्यता थियो। अहिले भने सो अवस्था उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

२०८१ सालको श्रावण महिनादेखि सुरु गरिएको यो सेवा स्वास्थ्य बीमाअन्तर्गत समेटिएकाले आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका नागरिकहरूलाई समेत सहज पहुँच पुगेको छ । अस्पतालमै गुणस्तरीय सेवा पाउन थालेपछि बिरामीको समय, खर्च र मानसिक तनावसमेत घटेको स्थानीयवासीहरूको भनाइ छ ।

शल्यक्रियाहरू अनुभवी शल्य चिकित्सकहरूको टोलीद्वारा सञ्चालन हुँदै आएका छन् । चिकित्सकहरूको समन्वय, आधुनिक उपकरण र दक्ष एनेस्थेसिया सेवाका कारण शल्यक्रियाको सफलता दर उच्च रहेको अस्पताल स्रोतले जनाएको छ । अपरेसनपछिको जटिलता न्यून हुनु, छिटो डिस्चार्ज हुन सक्नु र संक्रमणको जोखिम कम हुनु यस सेवाका मुख्य फाइदाका रूपमा देखिएका छन् ।

उक्त शल्यक्रियाहरू शल्य चिकित्सकहरू डा। दिन्जुल कटुवाल, डा। विनयकुमार चौधरी, डा। कौशल समशेर थापा तथा डा। शशी अधिकारीको नेतृत्वमा सम्पन्न हुँदै आएका छन्। शल्यक्रियाका क्रममा एनेस्थेसियोलोजिस्टहरू डा। यशोदा खड्का र डा। प्रशान्त सिल्वालको महत्वपूर्ण भूमिका रहेको छ।

हाल सिन्धुली मात्र नभई छिमेकी जिल्लाहरूबाट पनि स्वास्थ्य बीमामार्फत रेफर भई बिरामीहरू अस्पतालमा उपचारका लागि आउने क्रम बढ्दो छ । यसले जिल्ला अस्पतालप्रति आम नागरिकको भरोसा बढ्दै गएको संकेत गर्दछ । सीमित स्रोत–साधनका बीच पनि गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण सिन्धुली अस्पतालले प्रस्तुत गरेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

स्थानीय स्तरमै अत्याधुनिक शल्यक्रिया सेवा उपलब्ध हुँदा ग्रामीण क्षेत्रका नागरिकहरूलाई राजधानी धाउनुपर्ने बाध्यता हट्दै गएको छ । यो उपलब्धिले स्वास्थ्य सेवा विकेन्द्रित गर्ने सरकारी नीतिलाई समेत बल पुगेको देखिन्छ । आगामी दिनमा सेवा विस्तार र थप विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न सके सिन्धुली अस्पताल पूर्वी बागमती क्षेत्रकै नमुना अस्पतालका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया