सिन्धुली,६ पुस– काठ र बाँसको प्रयोग गरी तयार गरिएका साना–साना कलाकृतिहरू केवल सजावटका सामग्री मात्र होइनन्, ती आत्मनिर्भरता, सिर्जनशीलता र समावेशी सोचका प्रतीक पनि बनेका छन् । सिन्धुली कमलामाई नगरपालिका ६ जसेदमार स्थित नवज्योती बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरूले बनाएका यिनै काष्ठकलाले स्थानीय सरकारदेखि सर्वसाधारणसम्मको ध्यान खिच्न थालेका छन् ।
देशभर प्रख्यात फल जुनार, सिन्धुली जिल्लाको नक्सा र अंग्रेजसँग गोरखाली सेनाले खोसेको ऐतिहासिक काली तोपका आकर्षक काष्ठकला बहिरा विद्यार्थीहरूले आफ्नै सीप र श्रमबाट तयार गर्छन ्। यस्ता ‘मायाका चिनो’ गोलञ्जोर गाउँपालिकाको कुभिण्डेमा आयोजित जुनार मेलामा राखिएको स्टलमा प्रदर्शनमा राखिएको थियो । स्टल अवलोकनपछि गाउँपालिकाका अध्यक्ष शंकर बरालसँग स्थानीय तहले औपचारिक रूपमा नै प्रस्ताव राखे, “अब पालिकाले अतिथि सत्कार तथा सम्मानस्वरूप दिने मायाको चिनो यिनै स्थानीय उत्पादनबाट दिइयोस् ।”
गोलञ्जोर गाउँपालिका जुनार उत्पादनका लागि परिचित छ । करिब पौने अर्ब रुपैयाँ बराबरको जुनार वार्षिक रूपमा निर्यात हुने गरेको तथ्यांकले यस क्षेत्रको आर्थिक सम्भावना प्रष्ट पार्छ । त्यसैले जुनार केवल फल मात्र नभई गोलञ्जोरको पहिचान र प्रवर्धन दूतका रूपमा स्थापित छ । यही पहिचानसँग बहिरा विद्यार्थीको काष्ठकला जोडिँदा स्थानीय उत्पादनको प्रवर्धनसँगै सीमान्त समुदायको सीप र क्षमतालाई पनि सम्मान गर्ने अवसर मिल्ने सरोकारवालाको भनाइ छ ।
अर्कोतर्फ, सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.६ रहेको बहिरा विद्यालयमा देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थी अध्ययनरत छन् । यद्यपि, पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरूमा सांकेतिक भाषाको नियमित प्रयोग नहुने गुनासो पनि उठ्दै आएको छ । यदि सार्वजनिक कार्यक्रममा सांकेतिक भाषाका दोभाषे प्रयोग गरिएमा, बहिरा विद्यार्थीको सहभागिता र आत्मविश्वास मात्र होइन, नगरपालिकाको समावेशी अभ्यास पनि थप सुदृढ हुने शिक्षा क्षेत्रका जानकार बताउँछन् ।
स्थानीय उत्पादन, सीप र समावेशितालाई एउटै सूत्रमा बाँध्ने यी प्रयासले सिन्धुलीलाई केवल आर्थिक रूपमा होइन, सामाजिक चेतनाको दृष्टिले पनि उदाहरणीय बनाउने अपेक्षा गरिएको छ ।