शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बढ्दो असुरक्षाको संकेत : गत वर्षभन्दा दोब्बर हत्या

शुक्रवार , पौष ४, २०८२

सिन्धुली,०४ – सिन्धुली जिल्लामा पछिल्लो समय आपराधिक घटनाहरू विशेषगरी हत्याका प्रकरण तीव्र गतिमा बढिरहेका छन् । चालु आर्थिक वर्ष २०८२÷८३ को आधा अवधि पनि पूरा नहुँदै जिल्लामा भएको हत्याको संख्या गत वर्षको कुल तथ्यांकभन्दा बढी देखिनुले शान्त र सुरक्षित समाजको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै पाँच जनाको हत्या भइसकेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा भने १२ महिनाको अवधिमा चार जनाको मात्र हत्या भएको थियो । यसरी वर्षको आधा समयमै अघिल्लो वर्षको तथ्यांक उछिन्नु चिन्ताजनक संकेतका रूपमा हेरिएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा दुधौली नगरपालिकामा दुई जना, कमलामाई नगरपालिकामा एक जना, गोलन्जोर गाउँपालिकामा एक जना र तीनपाटन गाउँपालिकामा एक जनाको हत्या भएको छ । मृतकमध्ये एक जना बालिका, दुई जना पुरुष र दुई जना महिला रहेका छन । ती घटनामा संलग्न आठ जनालाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्त प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा हरिहरपुरगढी गाउँपालिकामा दुई जना, घ्याङलेख गाउँपालिकामा एक जना र दुधौली नगरपालिकामा एक जनाको हत्या भएको थियो । ती घटनामा एक बालिका र तीन जना पुरुषको ज्यान गएको थियो । गत आर्थिक बर्ष साउनदेखि असारसम्मको अवधिमा भएका ती हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार दुवै वर्षका हत्याका घटनाहरूको कारण हेर्दा अधिकांश घटना घरायसी विवाद, जग्गाको भागबन्डा, आपसी रिसइवी तथा आर्थिक लेनदेनसँग जोडिएका छन् । “सामान्य देखिने विवादहरू नियन्त्रण बाहिर पुग्दा ज्यान जाने अवस्थासम्म पुगेका छन्,” प्रहरी नायव उपरीक्षक सुवेदीले भने, “धैर्यको कमी, आपसी संवादको अभाव र कानुनी प्रक्रियाप्रति बेवास्ताले यस्ता घटनाहरू बढिरहेका छन् ।”

सामाजिकअभियन्तारूका अनुसार पछिल्लो समय समाजमा असहिष्णुता बढ्दै गएको देखिन्छ । सानो विषयमा पनि आवेग नियन्त्रण गर्न नसक्ने प्रवृत्ति, व्यक्तिगत स्वार्थलाई सर्वोपरि राख्ने सोच र कानुनप्रति डरको कमीले हिंसात्मक अपराधलाई प्रोत्साहन गरिरहेको उनीहरूको बुझाइ छ ।

प्रहरी नायब उपरीक्षक सुवेदीले हत्याका पछाडि आर्थिक असमानता, बेरोजगारी, चेतनाको कमी, सामाजिक तनाव, लागूऔषधको दुरुपयोग तथा तत्कालिक आवेग प्रमुख कारणका रूपमा देखिएको बताए । “मानिसहरू सानो विषयमा पनि सहनशील हुन नसक्ने अवस्था देखिन्छ,” उनले भने, “कानुन आफ्नै हातमा लिने प्रवृत्तिले समाजलाई झन् असुरक्षित बनाउँदै लगेको छ ।”

बढ्दो अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । विद्यालय, टोल विकास संस्था, सामुदायिक समूह तथा जोखिमयुक्त क्षेत्रहरूमा सचेतना कार्यक्रममार्फत कानुनी ज्ञान, विवाद समाधानका उपाय र सामाजिक सद्भाव प्रवद्र्धनमा जोड दिइएको प्रहरीको भनाइ छ ।

तर अपराध न्यूनीकरणका लागि प्रहरी प्रयास मात्र पर्याप्त नहुने सरोकारवालाहरू बताउँछन्। स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था र समुदाय स्वयं सक्रिय नबनेसम्म यस्ता घटनामा कमी आउन कठिन हुने उनीहरूको धारणा छ । “समुदाय आफैँ सचेत र जिम्मेवार नबनेसम्म अपराध नियन्त्रण सम्भव हुँदैन,” एक स्थानीय अगुवाले भने ।

सिन्धुलीमा देखिएको हत्याको बढ्दो तथ्यांक केवल प्रहरीको चिन्ताको विषय मात्र होइन, समग्र समाजका लागि चेतावनी हो। यदि समयमै प्रभावकारी कदम नचालिए यस्ता घटनाले सामाजिक संरचनामै गहिरो असर पार्ने खतरा देखिएको छ । शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि कानुनी शासन, सामाजिक सहिष्णुता र सामूहिक जिम्मेवारी अपरिहार्य देखिएको छ ।

प्रतिक्रिया