शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ललितपुर लुभुमा सिन्धुलीका युवक मृत फेला

बिहिवार , पौष ३, २०८२

सिन्धुली,०३ पुस – सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ रतनचुराका एक युवक ललितपुरको लुभु क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । स्थानीयले दिएको सूचनाका आधारमा बुधबार साँझ प्रहरीले पानीको इनार नजिकैबाट २८÷२९ वर्षीय केशव हायुको शव बरामद गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनास्थलको प्रकृति हेर्दा हत्यापछि शव इनारमा फालिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।

प्रहरीका अनुसार मृतक केशव हायु केही समयदेखि वैदेशिक रोजगारीमा जाने तयारीका क्रममा ललितपुरमै रहेको एक कृषि फार्ममा बस्दै आएका थिए । सोही क्रममा उनी सम्पर्कविहीन भएपछि स्थानीयले खोजतलास गर्दा इनार आसपास शव देखिएको र प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा पुगेर मुचुल्का उठाइ सकेपछि शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलको अवस्था, शवको अवस्थिती र वरपर देखिएका प्रमाणका आधारमा प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार शव इनारभित्र वा नजिकै फालिएको अवस्थामा भेटिनुले आत्महत्या भन्दा पनि आपराधिक घटनाको सम्भावना बलियो देखिएको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको वास्तविक कारण यकिन गर्न नसकिने प्रहरीको भनाइ छ ।

स्थानीयवासीका अनुसार लुभु क्षेत्रमा रहेका केही कृषि फार्ममा बाहिरबाट आएका युवाहरू काम गर्दै बस्ने गरेका छन् । केशव पनि त्यहीँ काम र बसोबास गर्दै आएको बताइएको छ । उनीसँग अन्तिमपटक को–कोसँग भेटघाट भयो, कसरी घटनास्थलसम्म पुगे,यी सबै पक्षलाई प्रहरीले सूक्ष्म ढंगले खोतलिरहेको छ । प्रहरीका अनुसार हालसम्म केही व्यक्तिहरूलाई शंकाको आधारमा सोधपुछ गरिएको छ, तर औपचारिक रूपमा कसैलाई पक्राउ गरिएको छैन ।

मृतकको परिवार सिन्धुलीमा बसोबास गर्ने भएकाले घटनाको खबर पाएपछि परिवारजन स्तब्ध बनेका छन् । परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि घटनाप्रति गहिरो चासो व्यक्त गर्दै सत्यतथ्य छिटो सार्वजनिक गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता अनुसार अनुसन्धानका लागि प्राविधिक टोली परिचालन गरिएको छ । मोबाइल विवरण, घटनास्थल आसपासका सीसीटीभी फुटेज, तथा मृतकको पछिल्ला गतिविधिबारे तथ्य संकलन भइरहेको छ। “सबै सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान भइरहेको छ,” प्रवक्ताले भने, “पोस्टमार्टम रिपोर्ट र प्राविधिक प्रमाण आएपछि घटनाको वास्तविकता प्रस्ट हुनेछ ।”

यस घटनाले वैदेशिक रोजगारीको तयारीमा सहर आएका युवाहरूको सुरक्षा र बसोबासको अवस्थाबारे पनि प्रश्न उठाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान सकेर थप विवरण सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया