शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीबाट चार केन्द्रीय सदस्य चयन

बिहिवार , पौष ३, २०८२

सिन्धुली ,०३ पुस – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले सिन्धुली जिल्लालाई पार्टीको केन्द्रीय राजनीतिमा थप मजबुत रूपमा स्थापित गरेको छ । महाधिवेशनबाट सिन्धुलीका चार जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै जिल्लाको राजनीतिक उपस्थिति र प्रभाव उल्लेखनीय रूपमा बढेको छ । लामो समयदेखि पार्टी संगठन, जनआन्दोलन र स्थानीय राजनीतिक अभ्यासमा सक्रिय रहँदै आएका नेताहरूको यो सफलता सिन्धुलीका लागि गौरवको विषय बनेको छ ।

महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा विषमलाल अधिकारी दनुवार, निरुकुमारी कुबर (निरु दर्लामी), प्रदीप कटुवाल र रणकुमारी बललम्पाखी मगर रहेका छन् । विभिन्न पृष्ठभूमि, अनुभव र संगठनात्मक योगदान बोकेका यी नेताहरूको चयनले पार्टीभित्र समावेशिता, क्षेत्रीय सन्तुलन र कार्यक्षमता झल्काएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

केन्द्रीय सदस्यमा निर्वाचित विषमलाल अधिकारी दनुवार लामो समयदेखि पार्टी संगठन विस्तार र जनसम्पर्कमा सक्रिय रहँदै आएका नेता हुन् । विशेषतः आदिवासी जनजाति समुदायको हक–अधिकार, सामाजिक न्याय र संगठन निर्माणमा उनको योगदान उल्लेखनीय मानिन्छ । उनले पार्टीलाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । अधिकारीको चयनले एमालेभित्र समावेशी नेतृत्वको अभ्यासलाई थप सुदृढ बनाएको सन्देश गएको छ ।

त्यसैगरी नीरुकुमारी कुबर (निरु दर्लामी) को केन्द्रीय सदस्यमा चयन महिला नेतृत्वको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ । महिला अधिकार, सामाजिक रूपान्तरण र संगठनात्मक सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी कुबरले पार्टीभित्र महिलाको सहभागिता र नेतृत्वलाई बलियो बनाउने अपेक्षा गरिएको छ । उनको चयनले एमालेभित्र महिलाको भूमिकालाई केवल सहभागितामा सीमित नराखी निर्णय तहसम्म पु¥याउने संकेत दिएको छ ।

प्रदीप कटुवाल पनि पार्टीका अनुभवी र संगठनप्रति समर्पित नेताका रूपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा पार्टी संगठन, वैचारिक बहस र नीतिगत छलफलसम्म विस्तार भएको छ । कटुवालको केन्द्रीय सदस्यताले संगठनात्मक अनुशासन, नीति निर्माण र कार्यान्वयनमा सिन्धुलीको आवाजलाई केन्द्रीय तहमा थप मजबुत बनाउने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

रणकुमारी बललम्पाखी मगरको केन्द्रीय अनुशासन आयोगको सदस्यमा चयनले महिला, आदिवासी तथा सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई थप बलियो बनाएको छ । सामाजिक न्याय, समावेशिता र जनआधारित राजनीतिमा सक्रिय रहँदै आएकी मगरको भूमिका आगामी दिनमा पार्टीभित्र नीतिगत र सांगठनिक सुधारमा प्रभावकारी हुने अपेक्षा गरिएको छ । उनको चयनले एमालेले विविध समुदायको नेतृत्व विकासलाई प्राथमिकतामा राखेको सन्देश पनि दिएको छ ।

महाधिवेशनपछि सिन्धुली जिल्लामा उत्साहको माहोल देखिएको छ । पार्टी कार्यकर्ता, शुभेच्छुक र स्थानीय राजनीतिक वृत्तले निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । स्थानीय स्तरमा एमाले संगठन थप मजबुत हुने र जिल्लाका विकास, समृद्धि तथा राजनीतिक मुद्दाहरू केन्द्रीय तहमा प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार चार केन्द्रीय सदस्यको चयनले सिन्धुलीलाई एमालेको केन्द्रीय राजनीतिमा निर्णायक भूमिकामा पु¥याउने सम्भावना बढाएको छ । यसले पार्टीभित्र जिल्लाको आवाज मात्र होइन, विकास, समावेशिता र सुशासनका सवाललाई पनि सशक्त रूपमा प्रस्तुत गर्ने आधार तयार भएको उनीहरूको भनाइ छ ।

निर्वाचित नेताहरूले सामूहिक रूपमा पार्टीको नीति, सिद्धान्त र संगठनलाई जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। उनीहरूले जनताको विश्वासलाई केन्द्रमा राखेर पार्टी र देशको हितमा काम गर्ने बताएका छन्। आगामी दिनमा उनीहरूको भूमिकाले सिन्धुली मात्र नभई राष्ट्रिय राजनीतिमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको भावी दिशा तय गरेको यस घडीमा, सिन्धुलीबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सक्रियता र कार्यक्षमताले पार्टीभित्र नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया