सिन्धुली,- सिन्धुलीकी दीपा देवकोटाले नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाका रूपमा ह्विलचियर प्रयोग गरेर बन्जी जम्प गर्दै साहस, आत्मविश्वास र समावेशी सोचको ऐतिहासिक उदाहरण प्रस्तुत गरेकी छन् । उनले सिन्धुपाल्चोक स्थित ‘द लास्ट रिसोर्ट’ मा सफलता पूर्वक बन्जी जम्प गर्दै अपाङ्गता कमजोरी होइन, अवस्था मात्रै हो भन्ने सशक्त सन्देश समाजमा प्रवाह गरेकी छन् ।
स्पाइनल बाइफिडा नामक शारीरिक अपाङ्गता हुँदा हुँदै पनि देवकोटाले साहसिक खेलकुदमा सहभागिता जनाएर अपाङ्गता भएका व्यक्तिहरू पनि कुनै पनि क्षेत्रमा सक्षम र सफल हुन सक्छन् भन्ने प्रमाणित गरेकी छन् । उनको यो कदमले समाजमा व्याप्त अपाङ्गताप्रति रहेको नकारात्मक सोच र विभेदलाई चुनौती दिएको छ ।
दीपा देवकोटा एक सक्रिय अपाङ्गता अधिकारकर्मी पनि हुन् । उनी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी संघीय सदस्य, सिन्धुली अपाङ्ग महिला संघकी अध्यक्षका रूपमा रहेर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सशक्तीकरण र समावेशी समाज निर्माणका लागि निरन्तर क्रियाशील छिन् । विभिन्न सामाजिक अभियान र गतिविधिमार्फत उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै आएकी छन् ।
बन्जी जम्पपछि प्रतिक्रिया दिँदै देवकोटाले भनिन्, “अपाङ्गता कमजोरी होइन । आत्मबल, अवसर र सकारात्मक सोच भए हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ । मेरो यो प्रयासले अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ आफ्नो क्षमता चिनेर अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छ ।”
विशेषगरी, उनले आफ्नो जन्मदिनको दिन नै यो साहसिक कार्य गरेर यसलाई अझ अर्थपूर्ण बनाएकी छन् । दीपा भन्छिन्, “समाजले अपाङ्गता भएका सन्तान जन्माएको भन्दै मेरा आमाबुबालाई सामाजिक र मानसिक रूपमा विभेद गरिरहँदा, म आज उनीहरूलाई धन्यवाद दिन चाहन्छु । किनकि उहाँहरूले एउटा सक्षम र साहसी छोरी जन्म दिनुभयो । अपाङ्गताले मेरो जीवनको कुनै पनि अध्याय रोक्ने छैन । त्यसैले मेरा अभिभावक मेरो जीवनका सबैभन्दा विशेष शक्ति हुन् ।”
नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको सन्दर्भमा दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि साहसिक खेलकुद र पर्यटन क्षेत्र पहुँचयोग्य हुनुपर्छ भन्ने विषयलाई थप बल दिएको छ । यसले नीति निर्माता, पर्यटन व्यवसायी र समाजलाई समावेशी संरचना निर्माणतर्फ सोच्न बाध्य बनाएको छ ।
दीपा देवकोटाको यो ऐतिहासिक साहसिक कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो । उनको साहसले अपाङ्गता भएका व्यक्तिहरूलाई “अपाङ्गता भएर पनि धेरै गर्न सकिन्छ” भन्ने विश्वास जगाएको छ ।