शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली महोत्सव २०८२ माघ ९ गतेदेखि, स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जोड

बुधवार , पौष २, २०८२

सिन्धुली । सिन्धुली जिल्लाको आर्थिक, व्यावसायिक तथा सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सिन्धुली महोत्सव २०८२ आयोजना हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीको आयोजनामा हुने महोत्सव आगामी माघ ९ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव कमलामाई नगरपालिका–६ स्थित खुला मञ्चमा आयोजना हुने छ । जिल्ला भित्रका उद्योगी, व्यवसायी, किसान, कलाकार तथा सर्वसाधारणलाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघको भनाइ छ । महोत्सवले स्थानीय उत्पादन, सीप र संस्कृतिको प्रवद्र्धनसँगै जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार सिन्धुली महोत्सवले जिल्लामा उत्पादित कृषि तथा घरेलु उत्पादनलाई बजारसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । जुनार, अदुवा, अलैंची, मौसमी फलफूल, स्थानीय खाद्य परिकार, हस्तकलाका सामग्री तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू महोत्सवमा प्रमुख रूपमा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । यसले किसान र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा व्यावसायिक स्टलहरू, उत्पादन प्रदर्शनी, सूचना तथा सेवा कक्ष सहित विभिन्न आकर्षण रहनेछन् । जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, बैंक तथा वित्तीय संस्था, सहकारी, होटल व्यवसाय, पर्यटनसँग सम्बन्धित संस्थाहरूले पनि स्टलमार्फत आफ्ना सेवा तथा उत्पादनको जानकारी गराउनेछन् । यसबाट लगानी प्रवद्र्धन र व्यावसायिक नेटवर्क विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम महोत्सवको अर्को मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, सांगीतिक कार्यक्रम, नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। यसले स्थानीय कला–संस्कृतिको संरक्षण र प्रचारमा योगदान पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवले रोजगारी सिर्जनामा पनि सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। महोत्सव तयारी, सञ्चालन तथा व्यवस्थापनका क्रममा अस्थायी रोजगारी सिर्जना हुने संघले जनाएको छ । साथै, स्थानीय होटल, यातायात, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन महोत्सवको अर्को प्रमुख उद्देश्य हो । महोत्सव अवधिमा जिल्लाबाहिरबाट आगन्तुकहरू भित्रिने भएकाले सिन्धुलीका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ। यसले जिल्लालाई दीर्घकालीन पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको धारणा छ ।

सिन्धुली उद्योग वाणिज्य संघले महोत्सव सफल बनाउन स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको जनाएको छ। संघले महोत्सवलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ ।

आयोजकले सबै उद्योगी, व्यवसायी, किसान, कलाकार तथा आम नागरिकलाई महोत्सवमा सक्रिय सहभागिता जनाई स्थानीय उत्पादनको प्रयोग र प्रवद्र्धनमार्फत जिल्लाको आर्थिक विकासमा योगदान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया