सिन्धुली, – सिन्धुलीमा Gen Z आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ परेका १५ युवा आज रिहा भएका छन्। सरकार र Gen Z बीच भएको सहमतिपछि उनीहरूलाई रिहा गरिएको हो ।
युवाहरू रिहा भएसँगै, पक्राउका बेला भूमिगत भएका तथा लुकेर बसेका भनिएका केही स्थानीय अगुवाहरू सामाजिक सञ्जालमा 'सबै मैले गर्दा छुटेको' भन्दै जस लिने होडबाजीमा उत्रिएका छन् । स्रोतका अनुसार, पक्राउ पर्ने डरले सुरुमा Gen Z का तथाकथित नेता सुरक्षाकर्मीको डरले भागेका र राजनीतिक नेताहरूको छत्रछायामा लुकेर बसेका थिए । तर, अहिले सहमति भएर युवाहरू रिहा भएपछि उनीहरू एक्कासी 'फिल्ड' मा आएर सम्पूर्ण श्रेय आफैँले लिन खोजिरहेका छन् ।
युवाको रिहाइमा भने विभिन्न व्यक्तिहरूको सक्रिय पहल देखिएको छ। पक्राउ परेका युवाहरूलाई रिहा गराउने सन्दर्भमा युवा रोशन लामाले सुरुदेखि नै सक्रिय भूमिका खेलेको जानकारहरु बताउँछन् । स्रोतका अनुसार, लामाले पक्राउ परेका युवाहरूलाई छुटाउनका लागि जिल्ला प्रहरी प्रमुख (SP)लाई सुदन गुरुङ मार्फत टेलिफोन गरी समन्वय गरेका थिए । साथै, उनले सिन्धुली सौगातसँगको अन्तरबार्तामा सार्वजनिक रूपमै पक्राउ परेका युवाहरूलाई रिहा गरिनुपर्ने कुरा उठाएका थिए ।
यस रिहाइको पहलमा पारस बराल र राजिव थापा ले पनि सक्रियता देखाएका थिए । उनीहरूको पहल गृह मन्त्रालय मार्फत भएको बुझिएको छ, जहाँ गृह सचिव र एआईजी ले समेत जिल्ला प्रहरी प्रमुख (SP) लाई टेलिफोन गरी समन्वय गरेका थिए ।
पीडित परिवारका एक सदस्यले बताएअनुसार, लामाले पक्राउ परेका युवाका परिवारसँग नियमित सम्पर्कमा रहेर ढाडस दिने काम गरिरहेका थिए ।
युवाहरूको रिहाइलाई धेरैले स्वागत गरेका छन्, तर पक्राउको समयमा नदेखिने र अहिले रिहाइको जस लिने दौडमा उत्रिएकाहरूलाई भने स्थानीयले आलोचना गरिरहेका छन् ।