सिन्धुली - नेपाली कांग्रेसको आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट युवा नेता कृष्णमुरारी गुरुङको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । महासमिति सदस्य समेत भइसकेका गुरुङलाई पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको रूपमा अगाडि सारेको हो ।
लामो समयदेखि संगठन निर्माण, समाजसेवा तथा खेलकुद क्षेत्रमा सक्रिय गुरुङ सिन्धुली–१ मा लोकप्रिय युवा नेताको रूपमा परिचित छन् । केवल भाषणको राजनीतिको सट्टा सामाजिक गतिविधिमा प्रत्यक्ष संलग्न रहँदै आएका कारण उनलाई उम्मेदवार बनाइनुपर्ने स्थानीय तहका मतदाताको समेत माग रहेको कांग्रेसका नेताहरू बताउँछन् ।
सिन्धुली–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुल १३ जनाको नाम सिफारिस गरिएको छ । उक्त सूचीमा कृष्णमुरारी गुरुङसहित श्यामकुमार घिमिरे, उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, प्रेमचन्द्र दाहाल, विश्वनाथ कोइराला, शम्भु राउत, प्रेमप्रसाद भट्टराई, ध्रुवप्रसाद पहाडी, दिनेशप्रसाद अधिकारी, खिला कुमारी दाहाल (लक्ष्मी) र अन्जनी कोइराला रहेका छन् ।
समानुपातिकतर्फ गङ्गा दाहाल, इन्दिरा निरौला, भद्रीमाया मगर र चेतप्रसाद भट्टराईको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ बिनोदकुमार गुरुङको एकल नाम अगाडि सारिएको छ ।
यस्तै, सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुशिला थिङ, खड्गबहादुर वाइबा, डम्बरबहादुर कार्की र असिमजंग थापाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ दिपशिखा शर्मा ढकाल, बाबुराम भट्टराई, बिजुला बर्मा, जनकबहादुर तोलाङ्गे, श्रीचन चौधरी, नरेन्द्रजंग थापा र श्यामकाजी श्रेष्ठको नाम सिफारिस सूचीमा समावेश गरिएको छ ।
पार्टीभित्र उम्मेदवार चयनलाई लिएर चासो बढिरहेका बेला केन्द्रको अन्तिम निर्णयले सिन्धुली कांग्रेसको राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।