सिन्धुली, २३ मंसिर — “ गोलन्जोरको सान जुनार हाम्रो पहिचान—गोलन्जोरको जुनार, समृद्धिको आधार” भन्ने नारासहित सिन्धुलीको गोलन्जोर गाउँपालिकामा आजदेखि जुनार प्रवद्र्धन मेला २०८२ सुरु गरिएको छ । नेपालभरि सिन्धुलीको पहिचान बनेको मौलिक फल जुनारलाई कृषि पर्यटनसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान विस्तार गर्ने उद्देश्यले पहिलो पटक तीनकन्या, माझ–कुभिण्डेस्थित जुनार बगैचामा नै मेला आयोजना गरिएको हो। बगैचाभित्रै भव्य रूपमा सुरु भएको मेलाले प्रधानमन्त्रीदेखि स्थानीय कृषकसम्म सबैलाई आकर्षित गरेको आयोजकले जनाएको छ ।
मेलामा जुनार खेतीको ऐतिहासिक तथा आर्थिक महत्वबारे अवलोकन गराउने, स्थानीय कृषकलाई सम्मान गर्ने तथा कृषि पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । दर्शक–पर्यटकका लागि जुनार बगैचाको प्रत्यक्ष अवलोकन, बोटबाटै टिपेर खाने अनुभव, बगैचामै मनोरञ्जन, फोटो तथा भिडियो खिच्ने अवसर उपलब्ध गरिएको छ । मेलामा विभिन्न जातजातिको सांस्कृतिक पहिरन झल्किने झाँकी, ¥याली, कृषक समूह तथा सहकारी संस्थाहरूको सहभागिता मिलेर वातावरण अझै सांस्कृतिक र आकर्षक बनेको छ ।
जुनार उत्पादनमा देखिएका रोग–कीरा, खाद्यतत्व अभाव, प्रशोधनका चुनौती तथा बजार समस्याबारे कृषकले उठाउने प्रश्नमा कृषि विज्ञहरूले प्रत्यक्ष जवाफ दिने अन्तरक्रिया मेलाको प्रमुख आकषर्ण बनेको छ । कृषकको समस्या सूक्ष्म रूपमा पहिचान गर्दै तत्कालीन र दीर्घकालीन समाधानबारे छलफल गरिने जनाइएको छ । मेलासँगै जुनारबाट बनेका जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्यान्डी लगायतका परिकार, साथै स्थानीय उत्पादन जस्तै अचार, ढाकाका सामग्री, कृषि उपज र मायाका चिनोको बिक्री तथा प्रदर्शनीका स्टलहरू पनि राखिएको छ ।
मेला सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तीन दिनमा करिब नौ हजार अवलोकनकर्ता पुग्ने अपेक्षा गरिएको छ । सिन्धुलीमा कुल १११३ हेक्टर क्षेत्रमा जुनार खेती हुँदै आएको छ, जसमा करिब ९० प्रतिशत अर्थात् एक हजार हेक्टर गोलन्जोर गाउँपालिकामा मात्र पर्छ । यस क्षेत्रमा ७०० हेक्टर उत्पादनशील बोट रहेको अनुमान छ । वार्षिक उत्पादकत्व १३.०३ मेट्रिक टन प्रति हेक्टरको दरले यो सिजनमा ९१२१ मेट्रिक टन उत्पादन सम्भावना रहे पनि रोग–कीराको कारण करिब ६२१८ मेट्रिक टन मात्र बजारमा पुग्ने गरेको छ । औसत मूल्य ५५ रुपैयाँ प्रति किलोका दरले गोलन्जोरका कृषकहरूले यसपालि लगभग ३४ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको आम्दानी गरेको तथ्यांकले देखाएको छ । हाल गाउँपालिकामा २७५० कृषक परिवार जुनार खेतीमा सक्रिय छन् ।
जुनार खेतीलाई स्थानीय रोजगारी, पर्यटन, उद्योग र बजारसँग जोडेर दीर्घकालीन स्वरूपमा विकास गर्नुपर्ने आवाज मेलामा सहभागी कृषकले जोडसँग उठाएका छन् । पहिलो पटक बगैचामै आयोजना गरिएको यस मेलाले कृषकको उत्साह बढाएको र सिन्धुलीको जुनारलाई अझ पहिचान दिलाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।