सिन्धुली, –जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा विभिन्न सरकारी तथा राजनीतिक कार्यालयमा गरिएको आगजनी र तोडफोड घटनामा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।
गत भदौ २३ र २४ गते जिल्लाभरि व्यापक रूपमा सञ्चालन गरिएको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, कमलामाई नगरपालिका वडा नं. ५ को वडा कार्यलय, राजनिति दलका पार्टी कार्यालयहरू तथा निजी घर–जग्गासमेत लक्षित गर्दै आगजनी र तोडफोड गरिएको थियो । घटनामा प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान सामाजिक सञ्जाल तथा सिसि टिभि फुटेजका आधारमा गरिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीको अनुसार पहिलो चरणमा चार प्रमुख सरकारी कार्यालय तोडफोड र आगजनी गर्नेको विस्तृत अनुसन्धान भइरहेकाले थप संलग्न व्यक्तिहरूको पहिचान भइरहेको बताउनुभयो । प्रहरीले २१ जनालाई पक्राउ गरेको छ भने १० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ । सिन्धुली प्रहरीले पक्राउ थालेपछि जेनजी विद्रोहको नेतृत्व गरेकाहरू जिल्ला छोडेर भागेका प्रहरीले जनाएको छ । अधिकांश जिल्ला अदालत आगजनी गरेको कसुरमा पक्राउ परेका छन् । अहिले पहिचान भइसकेका ब्यक्तिहरुको खोजी तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु कमलामाई नगरपालिका–६ का २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका–६ का ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका–५ का ४७ वर्षीय फौद थापामगर, तीनपाटन गाउँपालिका वडा नं–४ का ३० वर्षीय सुजन गौतम, जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं–६ का २५ वर्षीय पपु कुमार साह, जिल्ला सिन्धुली कमलामाई नगरपालिका–५ का २७ वर्षीय रबन चौधरी, कमलामाई नगरपालिका–१२ का ३१ वर्षीय क्षितिज श्रेष्ठ, कमलामाई नगरपालिका–४ का २४ वर्षीय सविन लामा, जिल्ला महोत्तरी गौशला नगरपालिका–२ का राजु महरा, भारत देश सितामढी जिल्ला घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपालिका– ६ धुराबजार बस्ने २२ वर्षीया का देवनंदन साह, कमलामाई नगरपालिका–१२ का २३ वर्षीय डोर बहादुर सार्की, तीनपाटन गाउँपालिका– ११ का २५ वर्षीय होम बहादुर लुङ्गेली, कमलामाई नगरपालिका– ८ का ३४ वर्षीय ओम बहादुर खत्री, मरिण गाउँपालिका– ८ का ३० वर्षीय कमल पाख्रिन, जिल्ला महोत्तरी बर्दिबास नगरपालिका– १४ का ३५ वर्षीय हरिचन सोनार छन् । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी आपराधिक उपद्रव तथा आगजनीसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।
आन्दोलनका क्रममा सिन्धुलीमा भएको क्षतिको प्रारम्भिक विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ । सरकारी कार्यालय, पार्टी कार्यालय तथा निजी भवनहरूमा आगजनी र तोडफोडबाट करिब १२ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सरकारी कार्यालयले उजुरी दिए पनि निजी पक्षबाट भने अहिलेसम्म कुनै औपचारिक जाहेरी दर्ता नभएको प्रहरीले बताएको छ ।
सबैभन्दा धेरै क्षति जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र कमलामाई नगरपालिकामा पुगेको छ । अदालत परिसरमा भएको आगजनीले मुद्दाका मिसिलदेखि कम्प्युटर, प्रिन्टर, फाइल, ईजलास कक्षका सामग्रीलगायत सबै भौतिक संरचना जलेर नष्ट भएको अदालतका सूचना अधिकारी डेढकुमार ढकालले जानकारी दिए ।
त्यसैगरी आन्दोलनका क्रममा १५ वटा सरकारी तथा निजी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ—जसमध्ये ९ वटा चारपाङ्ग्रे, ५ वटा मोटरसाइकल र १ स्कूटर तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
आन्दोलनमा जलेर नष्ट भएका अधिकांश कार्यालय अझैसम्म मर्मत–सम्भार हुन सकेका छैनन् । प्रहरी प्रशासनका अनुसार आन्दोलनको भीड, भीडभाडमा चलेका उक्साहटपूर्ण गतिविधि र तोडफोडका कारण सार्वजनिक सम्पत्तिमा परेको क्षति अत्यन्त गम्भीर छ र जिम्मेवारलाई कारबाहीको कठघरामा ल्याउन सबै खबरदारीसहित अनुसन्धान जारी राखिएको छ ।