शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चैनपुर–रातमाटे–गोल्फेडाडाको ९० हेक्टर वन क्षेत्र लिजमा दिने निर्णयविरुद्ध तीव्र प्रतिरोध

सोमवार , मंसिर २२, २०८२

सिन्धुली,- सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत पर्ने सुनकोसी गाउँपालिका–६ स्थित चैनपुर–रातमाटे–गोल्फेडाडा क्षेत्रमा ९० हेक्टर (करिब ५० बिघा) वन क्षेत्र ३० वर्षका लागि निजी कम्पनी ‘रेप्टोरिङ द रिफ्रेस प्रालि’लाई लिजमा दिने सरकारी प्रक्रियाविरुद्ध स्थानीयवासी एकजुट भई सडकदेखि सामाजिक सञ्जालसम्म कडा विरोधमा उत्रिएका छन् । होटल तथा रिसोर्ट निर्माणका नाममा स्थानीयले दशकौँदेखि संरक्षण गर्दै आएको प्राकृतिक क्षेत्रलाई निजी स्वार्थमा सौंपिन खोजिएको भन्दै सर्वत्र असन्तुष्टि बढेको छ ।

स्थानियवासीका अनुसार रातमाटे–गोल्फेडाडा क्षेत्र प्रदेशकै अत्यन्त आकर्षक तथा महत्वपुर्ण प्राकृतिक गन्तव्य हो। बीपी राजमार्ग सञ्चालनपछि यस क्षेत्रमा दैनिक यात्रु तथा पर्यटकको चहलपहल बढ्दै गएपछि स्थानीयले साना–साना व्यावसायिक स्टल, ठेला–पसल राखेर रोजगारी पाएका थिए। तर अहिले रिसोर्ट निर्माणको नाममा त्यस्ता साना व्यवसायीलाई हटाउने तयारीसँगै उनीहरूको जीविकोपार्जनमाथि प्रत्यक्ष असर पर्ने देखिएको छ ।

उता, लिज पाउने दाबी गर्दै आएको ‘रेप्टोरिङ द रिफ्रेस प्रालि’ले विगत ७ वर्षदेखि रातमाटे गोल्फेडाडा क्षेत्रमा प्रवेश पाउन विभिन्न प्रयास गर्दै आएको स्थानीय स्रोतले जनाएको छ । यस क्षेत्र विगतमा राष्ट्रिय वनको रूपमा रहेको भए पनि २०५३ साल अघि यसलाई कबुलियत वनका रूपमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको थियो। त्यतिबेला चैनपुर र सितलपाटीका ४२ परिवारलाई सात समूहमा विभाजन गरी ‘कबुलियत वन’ सञ्चालनमा ल्याइएको थियो । तर २०७५ सालदेखि भने सो कबुलियत वन फिर्ता लिएर पुनः राष्ट्रिय वन बनाउने प्रक्रिया अघि बढेपछि अवस्था फेरिएको हो ।

यसबीचमा कम्पनीले कबुलियत वन मुनाफा व्यवस्थापनका नाममा स्थानीयलाई बाहिरै राखेर आफूलाई प्रवेश गराउने सरकारी पहल गराउँदै आएको आरोप स्थानीयको छ । उनीहरूका अनुसार केही प्रशासनिक र राजनीतिक स्वार्थका कारण गोल्फेडाडाजस्तो अमूल्य सम्पदा निजी क्षेत्रलाई बेच्न खोजिएको हो ।

रातमाटे–गोल्फेडाडा क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय यमबहादुर, लक्ष्मी, गिता, अमरलगायतको भनाइ अनुसार, “हामी वर्षौंदेखि संरक्षण गर्दै आएको डाँडामा हाम्रो सरोकार नमान्ने गरी रिसोर्ट निर्माण गर्ने अनुमति दिनु अन्याय हो। यदि स्थानीयलाई नै समेटेर सामुदायिक पर्यटनको विकास गर्न सरकार इच्छुक भए हामी तयार छौं, तर निजी कम्पनीलाई ३० वर्षका लागि लिज दिने निर्णय हामीलाई स्वीकार्य छैन ।”

त्यस्तै, स्थानीय अभियानकर्ता र युवाहरूले गोल्फेडाडाको मौलिकता, जैविक विविधता, सांस्कृतिक पहिचान र प्राकृतिक सौन्दर्य जोगाउन सिंगो समुदाय सक्रिय भइरहेको बताए। बीपी राजमार्गको सबैभन्दा रमणीय भूभाग मानिने यो क्षेत्र पहाड, हरियाली वन, दृश्यावलोकन, चुरे–महाभारत शृङ्खलाको अनौठो रूप देखिने भएकाले पर्यटनको अपार सम्भावना बोकेको छ। तर स्थानीयले संरक्षण र व्यवस्थापनबाटै पर्यटन विकास गर्नुपर्ने माग गर्दै आएका छन् ।

यसैबीच स्थानियवासीहरूले निर्णय विरुद्ध गाउँमा चेतनामूलक भेलाहरू, सरोकारवालासँग समन्वय, हस्ताक्षर अभियान र सामाजिक अभियान चलाइरहेका छन् । उनीहरूले स्थानीय तहदेखि प्रदेश तथा संघीय सरकारसमक्ष पत्राचार गर्दै निर्णय रोक्न माग गरेका छन् । “हाम्रो हजारौं वर्षको प्राकृतिक सम्पदा बेच्न दिइने छैन। हामी अन्तिम क्षणसम्म जुध्नेछौं,” एक स्थानीय विद्यालयका शिक्षकले भने ।

यता, वन कार्यालय तथा स्थानीय तहका प्रतिनिधिहरूले भने विषयमा अझ छलफल भइरहेको र स्थानीयको चासोलाई ध्यानमा राखेर निर्णय हुने बताएका छन् । तर लिज प्रक्रियाको ‘अन्तिम चरण’सम्म पुगेको सूचनाले स्थानीयमा थप आक्रोश जगाएको हो ।

गोल्फेडाडा–रातमाटे क्षेत्र संरक्षणका लागि स्थानीयले समग्र जनसमुदाय, नागरिक समाज, पत्रकार, पर्यावरणविद् र सरोकारवालालाई साथ दिन अपिल गर्दै आएका छन्। उनीहरूका अनुसार, “यो केवल वन क्षेत्रको प्रश्न होइन, भविष्यको पुस्ताका लागि प्राकृतिक सम्पदा जोगाउने र स्थानीय अधिकार सुरक्षित गर्ने संघर्ष हो ।”

स्थानिय आन्दोलन जारी रहेकाले अब सरकारले कसरी कदम चाल्छ भन्ने प्रतीक्षा चासोको विषय बनेको छ ।

प्रतिक्रिया