सल्यान — पुर्खेउली घर सल्यान खलंगाकी एक आमाले आफ्नो ८४औँ जन्मदिनलाई केवल खुशीको क्षणका रूपमा मात्र नभई समाजसेवा र स्मृतिको सम्मानका दिनका रूपमा मनाउनुभएको छ। जन्मदिनकै अवसर पारेर उहाँले स्वर्गीय पति लक्ष्मण बहादुर देबकोटाको सम्झनामा निर्माण हुन लागेको शालिकको सिलान्यास गर्नुभएको छ।
उहाँका दिवंगत पति लक्ष्मण बहादुर देबकोटाले २०६७ सालमा खलंगास्थित नयाँ बसपार्क निर्माणका लागि आफ्नो जग्गा दान गर्नुभएको थियो। वर्षौँ बितिसक्दा पनि पतिको योगदानलाई न नगरपालिका, न प्रदेश सरकार, न कुनै निकायले औपचारिक रूपमा सम्मान गर्न सकेको थिएन। स्थानीय संरचना विस्तार र सार्वजनिक सेवाको प्रयोजनका लागि एक महत्वपूर्ण जग्गा दान हुँदा पनि उनको नाम नभएकोप्रति परिवारले पीडा व्यक्त गर्दै आएको थियो।
यही अपूरो सम्मानलाई पूरा गर्ने उद्देश्यले आमाले ८४ वर्षको यस विशेष उमेरमा आफ्नै पहलमा पतिको सम्झनामा शालिक निर्माणको काम सुरु गर्नुभएको हो। जन्मदिनको दिन नै गरिएको सिलान्यासले परिवार मात्र होइन, स्थानीय समुदायमा पनि सकारात्मक सन्देश दिएको छ—‘समाजका योगदानकर्ता कहिल्यै बिर्सनु हुँदैन।’
शालिक निर्माणमा सहयोग पु¥याइएको भन्दै निवर्तमान संघीय सांसद अनिषा नेपालीलाई विशेष धन्यवादसमेत व्यक्त गरिएको छ। परिवारका अनुसार, सांसद नेपालीले आर्थिक तथा अन्य आवश्यक सहयोग प्रदान गर्दै स्मारक निर्माणलाई गति दिन महत्वपूर्ण भूमिका खेलेकी छिन्।
आमाले आफ्नो जीवनको आठ दशकभन्दा बढी समय समाज, परिवार र समुदायका लागि समर्पित गर्दै बिताउनुभएको छ। उहाँले पतिको कार्य र योगदान निरन्तर सम्झिँदै आउनुभएको भए पनि औपचारिक मान्यता नपाउँदा मनमनै किताबिएको अनुभूति पाइरहनुभएको थियो। आज पतिको स्मृतिमा शालिक निर्माणको आधारशिला राखेपछि उहाँले आफ्नो जीवनको महत्वपूर्ण अभिलाषा पूरा भएको भाव व्यक्त गर्नुभएको छ।
स्थानीयवासीका अनुसार, लक्ष्मण बहादुर देबकोटा दूरदृष्टिवान समाजसेवी थिए। सडक र यातायात व्यवस्थापनका लागि आवश्यक देखेर उनले नयाँ बसपार्कका लागि जग्गा दान गर्दा तत्कालीन समयमा त्यो ठूलो नागरिक योगदानका रूपमा लिइएको थियो। तर समयक्रममा उनको नाम ओझेल पर्दै गएपछि परिवारले नै पहल गर्नुपर्ने अवस्था आएको हो।
अब निर्माण हुन लागेको शालिकले केवल एक व्यक्तिको योगदान मात्र होइन, नागरिकले देशका लागि गरेका निःस्वार्थ कामहरूलाई सम्झन र सम्मान गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ। आमाको ८४औँ जन्मदिनमा गरिएको यो कामले स्मृतिको संरक्षण, परिवारको कर्तव्य र समाजप्रतिको जिम्मेवारीलाई एकैसाथ उजागर गरेको छ।
जन्मदिनमा सबैले आमाको स्वास्थ्य, दीर्घायु र उहाँको निरन्तर प्रेरणादायी जीवनको शुभकामना व्यक्त गरेका छन्।