सिन्धुली,— गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पु¥याएको बिपी राजमार्ग पुनर्निर्माण अहिले तीव्र गतिमा अघि बढाइएको छ । निरन्तर वर्षाका कारण रोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको करिब २८ किलोमिटर सडक भागमा ठूलो क्षति पुगेको थियो ।
सडक विभागका अनुसार क्षतिग्रस्त सडकलाई पाँच छुट्टाछुट्टै खण्डमा विभाजन गरी पुनर्निर्माण कार्य अगाडि बढाइएको छ । तीमध्ये चार खण्डअन्तर्गत २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ र काम धमाधम भइरहेको छ । यी खण्डहरू पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो ।
बाँकी ३ किलोमिटर खण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहायतामा पुनर्निर्माण हुने भएको छ । आवश्यक डिजाइन स्वीकृत भइसकेको र अहिले ठेक्का प्रक्रियामा रहेको सडक विभागले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँसँगै सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सुभराज न्यौपाने लगायतको टोली सहभागी थियो । जाइकाले निर्माण गर्ने खण्डको तयारी र निर्माण तालिकाबारे सम्बन्धित पक्षसँग छलफल गरेका बताइएको छ ।
हाल खोला किनारबाट अस्थायी डाइभर्सन मार्फत सवारी सञ्चालन भइरहेको छ । तर वर्षायाम सुरु भएसँगै डाइभर्सन टिक्ने सम्भावना न्यून हुने उल्लेख गर्दै मन्त्री घिसिङले वर्षा सुरु हुनुअघि नै स्थायी संरचना निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले जनशक्ति थप्ने, विद्युत् आपूर्ति मिलाउने, र रातिसम्म काम चलाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई आदेश दिनुभएको छ ।
जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको १६० किलोमिटर लामो बिपी राजमार्ग गत वर्षको बाढीले ३०.५ किलोमिटर भागमा क्षति पु¥याएको थियो । अहिले पुनर्निर्माण भइरहेकै खण्डमा पुरानै इन्टरमिडियट लेनलाई दुई लेनको मापदण्डमा पुनर्निर्माण गरिँदैछ ।