शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अग्निपीडितका सहारा, हजारौँको रक्षक—तर सरकारको नजरमा ‘अदृश्य’ उज्ज्वल विक्रम थापा

बुधवार , मंसिर १७, २०८२

सिन्धुली — देशमा हरेक वर्ष सयौँ आगलागीका घटना हुन्छन् । घर–परिवार जलेर खरानी हुन्छन्, थुप्रै मानिस गम्भीर रूपमा घाइते हुन्छन्, र अनेकौँ परिवार अकाल पिडामा डुब्छन्। त्यही बेला अस्पतालका आपतकालीन कक्षमा एउटा अनुहार सदैव देखिन्छ्—स्वार्थविहीन सहयोगको प्रतीक बनेका उज्ज्वल विक्रम थापा । न सरकारी कर्मचारी, न कुनै प्रतिष्ठित पदका अधिकारी । तर हजारौँ मानिसका लागि उनी नै पहिलो सहारा, पहिलो ढाडस र पहिलो आसरा बन्न पुगे ।

उज्ज्वल विक्रम थापा त्यो नाम हो, जसले आफ्नै जीवनलाई छोडेर अरूको जीवन बचाउन समर्पित गरे । आगलागीमा जलेर ल्याइएका घाइतेहरूलाई उपचार गराउन उनले रातदिन अस्पतालमा बस्न थालेको धेरै वर्ष भइसकेको छ । कसैलाई तत्काल औषधि चाहिन्छ, कसैलाई रगत, कसैलाई उपचार खर्च जुटाउन सहयोग आवश्यक हुन्छ—उनी आफूलाई थकान, समय र व्यक्तिगत जीवनभन्दा माथि राखेर अस्पतालमै बसेर सहयोग जुटाइदिन्छन । धेरैले त उनलाई आफ्नो जीवनमा पहिलोपटक देखेका थिए, तर उनीहरूलाई यस्तो लाग्थ्यो कि उज्ज्वल थापा मानौँ आफन्त नै आएर सम्हाल्न आएका हुन् ।

उनीसँग धन होइन, तर ठूलो मन छ — र यही मनले गर्दा उनले अहिलेसम्म करडौँ रुपैयाँ बराबरको सहयोग आगोले जलेर घाइते भएका मानिसहरूका लागि सहयोग गरिदिए । कोही असहाय परिवारले चिच्याएर सहयोग माग्नुपरेन । कोही लाजले कुरा खोल्न नसक्नेहरूको आवाज उनी आफैं बने । कति परिवारका आँखा बन्द हुँदै गरेका थिए, तर उज्ज्वल थापा अस्पतालको ढोकाबाट छिरेपछि तिनका आशा फेरि बले । धेरै पीडितहरूले उनलाई ूबाबा भनेर नै पुकार्छन्, किनकि संकटको बेलामा उनी नडराई, नथाकी, नअघाई उनीहरूकै छेउमा बसेर जीवनको लडाइँ जिताइदिन्थे ।

तर विडम्बना यहाँबाट सुरु हुन्छ । जति जनताले उनीलाई मन दिए, राज्यले भने उति नै मौनता देखायो । उनका योगदानको न सरकारी कागजमा उल्लेख छ, न कुनै सम्मानका सूचीमा उनको नाम भेटिन्छ । जसलाई देशले अगाडि ल्याउनुपर्ने थियो, त्यही मान्छे छायामा हराइदिए । कहिलेकाहीँ उनले पनि सोध्थे— के सेवा भावनाको मूल्य यहाँ यति सस्तो छ, तर उनको मनले कहिल्यै हार मानेन, उनले सहयोग गर्न रोकेन्न् । दुखमा परेका मान्छेहरू हेरेर पछि हट्ने उनी कहिल्यै भएनन् ।

तर राज्यको बेरुकीपनले अन्ततः एउटा सेवा–प्रेमी आत्मलाई देश छोड्ने निर्णयसम्म पु¥यायो । उज्ज्वल विक्रम थापा अहिले देश छोडेर जान बाध्य भएका छन् । देशमै बसेर सेवा गर्न चाहने उनको मन थियो, तर “तपाईँ हाम्रो देशका लागि आवश्यक व्यक्ति हो” भन्ने एउटा वाक्य पनि कसैले कहिल्यै सुनाइदिएन । सरकारबाट कहिल्यै कसैले आह्वान गरेन्न, “हामीसँग बस्नुस्, तपाईँले गरेको कामलाई हामी संस्थागत रूपमा अघि बढाउँछौँ” भन्ने हात कसैले अगाडि बढाएन्न । बरु, आफ्नो सेवा निरन्तरता राख्न नसक्ने परिस्थितिले उनलाई विदेशीनै बाध्य बनायो ।

समाजले गुमाउँदैछ एउटा समाजसेवी — जसले हातमा क्यामेरा नलिएर, राजनीतिक भाषण नगरेर, केवल कर्म गरेर चिनिंदै आएका थिए । उनको कथाले एउटा ठूलो प्रश्न छाडेर गएको छ—कसरी यस्तो देशले आफ्नो असली समाजसेवीलाई चिन्न सक्दैन, किन राजनीति नबोल्ने, प्रचार नखोज्ने, केवल मान्छे बचाउने काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्न सक्ंदैन ।

प्रतिक्रिया