शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको हरिहरपुरगढीमा अवैध गाँजा खेती फडानी, तीन वडामा अभियान संचालन

बुधवार , मंसिर १७, २०८२

सिन्धुली — हरिहरपुरगढी गाउँपालिका वडा नं। ६, ७ र ८ मा अवैध रूपमा भइरहेको गाँजा खेतीबारे प्राप्त गोप्य सूचनाका आधारमा सुरक्षा निकायले संयुक्त रूपमा फडानी अभियान सञ्चालन गरेको छ । जिल्ला सुरक्षा समितिले मिति २०८२।०८।१४ मा गरेको निर्णयअनुसार लागूऔषध नियन्त्रण तथा अवैध खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुली र सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म सिन्धुलीको टोली परिचालन गरिएको हो ।

 

अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा छ जना, ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा छ जना, प्रहरी चौकी क्यानेश्वरबाट दुई जना गरी चौध जनाको टोली सहभागी थियो । सोहीसँगै सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म सिन्धुलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किरण कुमार नेपाल नेतृत्वको पन्ध्र जनाको टोली समेत खटिएसँगैे संयुक्त रूपमा फडानी कार्य सम्पन्न गरिएको हो ।

 

अभियानअन्तर्गत मिति २०८२।०८।१५ मा हरिहरपुरगढी गाउँपालिका–७ अधेरी क्षेत्रमा करिब दुई हेक्टरमा लगाइएका अवैध गाँजा खेती नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी मिति २०८२।०८।१६ मा सोही गाउँपालिकाको मोक्तानडाँडामा करिब एक हेक्टर क्षेत्रमा गरिएको अवैध खेती पनि सुरक्षाकर्मीले फडानी गरेका छन् ।

 

प्रहरीका अनुसार जिल्लाभर अवैध गाँजा खेती तथा लागूऔषधसम्बन्धी क्रियाकलाप रोकथामका लागि निगरानी थप कडाइ गरिएको छ। अवैध खेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा आवश्यक कानुनी कारबाहीका प्रक्रिया अघि बढाइने प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया