सिन्धुली — गोलन्जोर गाउँपालिकाले आगामी मंसिर २३ देखि २५ गते तीनकन्या, माझ–कुभिण्डेमा ‘जुनार प्रवद्र्धन मेला’ भन्दै रंगीन कार्यक्रमको तयारी तीव्र पारेको छ । बजेट, ब्यानर र भाषणले गाउँपालिका फेरि एकपटक चम्किँदै छ । तर खेतमा पसिने किसानका दुख–पीडा भने मेलाको धुलोमुनि फेरि पुरिन लागेका छ ।
मेलाको तयारीमा बजेट, ब्यानर र प्रचार–प्रसारमा सक्रिय गाउँपालिका खेतमा पसिने कृषकका वर्षौंदेखिका दुःख–पीडा भने सुन्नेतिर उदासीन देखिएको किसानहरूको आरोप छ । किसानहरू भन्छन्, “गाउँपालिका वर्षमा तीन दिन स्टेज बनाउँछ, तर ३६५ दिन खेतमा हामी एक्लै संघर्ष गर्छौँ । मेला होइन, खेतमा सहारा देऊ ।”
किसानका अनुसार रोग–कीराले बगैँचा सखाप भइरहँदा तत्काल प्राविधिक सहयोग पाउन गाह्रो छ । मल–औषधि समयमै नपाइने, ढुवानी सुविधाको अभावमा उत्पादन बजारमै पुग्न नसक्ने र बिचौलियाको मनपरी मूल्यका कारण लागत पनि नउठ्ने स्थिति यथावत छ । “मेला गरेर तस्बिर खिचाउने हो कि किसान उठाउने? खेतमा एउटा प्राविधिक छैन, मेला चाहिँ लाखौँ खर्चेर,” स्थानीय कृषक रामेश्वर कार्कीको गुनासो छ । गाउँपालिकाले किसानका वास्तविक समस्यामा नजरै नपु¥याई फोटोजेनिक कार्यक्रममै निरन्तरता दिएको किसानहरूको आरोप छ ।
गोलन्जोरका किसान अहिले उत्पादनभन्दा बढी अनिश्चिततामा छन् । रोग नियन्त्रणको चुनौति, बढ्दो लागत र अस्थिर बजारले उनीहरू थप निराश बनेका छन् । किसान शंखर बस्नेतको अनुसार– अहिले आवश्यक थियो गाउँ–गाउँमा कृषि प्राविधिकको पहुँच, सस्तो र नियमित मल–औषधि, भण्डारण र प्रशोधन उद्योग, बिचौलिया नियन्त्रण र किसानमैत्री ढुवानी व्यवस्था, तर गाउँपालिकाले फेरि पुरानै ढर्रामा ‘स्टेज–केन्द्रित’ कार्यक्रमलाई नै प्राथमिकता दिएको उनको आरोप छ ।
गाउँपालिकाले मेलाले पर्यटन र बजार प्रवद्र्धनमा मद्दत पुग्ने दाबी गरेको छ । तर किसानहरूको ठोस प्रश्न छ, “उत्पादन नै रोगले नष्ट भएपछि बजार प्रवद्र्धनले के बेच्ने?” यही इभेन्ट–केन्द्रित प्रवृत्तिले किसानका समस्या समाधानभन्दा बढी बजेट देखाउने प्रतिस्पर्धालाई जन्म दिएको किसानहरूको टिप्पणी छ । उनीहरू भन्छन्, “मेलामा गाउँपालिकाको चमक हुन्छ, तर हाम्रो खेतमा अँध्यारो छ । खेतमा आएर समस्या सुन्ने साहस देखिएकै छैन् । खेतमा आएर समस्या सुन्ने साहस गर्नुस्, मेला गरेर हामीलाई देखाउने नाटक बन्द गरिदिनुस् ।” मेलाको तयारी रंगीन ब्यानर र स्टेजले सजिँदै गर्दा किसान भने आफ्नो बगैँचा बचाउने संघर्षमा व्यस्त छन् । अन्ततः किसानको प्रश्न एउटै छ— “किसान उठाउने कि मेला उठाउने?”