सिन्धुली — दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ। मिति २०८२।०८।१४ गते करिब साँझ ५ बजे ‘माछा मार्न जाने’ भन्दै घरबाट निस्किएका विक रातभरि घर नफर्किएपछि परिवारले खोजतलास जारी गरेका थिए।
मिति २०८२।०८।१५ गते बिहान करिब ११:३० बजे दुधौली नपा–६ स्थित कमला खोलाको दहमा विकलाई स्थानीयले उत्तानो अवस्थामा मृत फेला पारेका हुन्। जानकारी पाए लगत्तै करिब ११:४० बजे प्रहरी चौकी हर्षाहीमा खबर पुगेपछि प्रहरी चौकी हर्षाहीका प्रहरी सहायक निरिक अकिल खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक कार्य सम्पादन गरिएपछि इल्लाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरिक सपना खड्काको कमाण्डमा मुचुल्का तथा अनुसन्धान टोली त्यहाँ पुगेर आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।