सिन्धुली— सिन्धुलीको दुधौली नगरपालिका–२ गागनस्थित मदन भण्डारी राजमार्गमा आज बिहान करिब ३ बजे बस र मोटरसाइकल एक–अर्कामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुघातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।
घाइते दुवैजनालाई उपचारका लागि दुधौली नगर अस्पताल, सिर्थौली ल्याइएको भए पनि मोटरसाइकलमा सवार दुधौली नपा–३ का २५ वर्षीय महेश कुमारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते कमलामाई नगरपालिका–१४ चन्दनपुरका करिब २६ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पतालमै उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ।
उदयपुर, कटारी नगरपालिका–३ बसोबास गर्ने ३२ वर्षीय बस चालक स्यामकुमार भट्टराई घटनापछि फरार भएको र उनलाई खोजी तथा नियन्त्रणमा लिन आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा उद्धार तथा प्रारम्भिक कारबाहीका लागि प्रहरी चौकी हतपतेबाट प्रहरी सहायक निरीक्षकको टोली तथा इलाका प्रहरी कार्यालय ढकाहाबाट प्रहरी निरीक्षकको कमाण्डमा अतिरिक्त टोली खटिएको प्रहरीले जानकारी दिएको छ।