शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मरिण गाउँपालिकामा पुस महिनामा बहुआयामिक महोत्सव आयोजना हुँदै

शनिवार , मंसिर १३, २०८२

सिन्धुली-सिन्धुलीको  मरिण  गाउँपालिका–४ साहानस्थित खेलमैदानमा आगामी पुस ९ देखि २१ गतेसम्म बहुविध गतिविधिले भरिपूर्ण पाँचौँ मरिण महोत्सव–२०८२ आयोजना हुने भएको छ। यस वर्षको महोत्सवलाई कृषि, पर्यटन, संस्कृति र स्थानीय व्यापारसँग जोडिएको समग्र उत्सवका रूपमा प्रस्तुत गर्ने योजना रहेको छ। कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघ, मरिण शाखा मुख्य आयोजक रहनेछ।

 

महोत्सवमा स्थानीय समुदायले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु, हस्तनिर्मित सामग्री, ढाका–अल्लोका पहिरन, बाँस–काठको कला, साथै दुग्धजन्य उत्पादन लगायतका सामग्री प्रदर्शन गरिनेछन्। साथै सिन्धुलीको मौलिक पहिचान झल्काउने वस्तुहरूको प्रतियोगितात्मक प्रदर्शनी पनि राखिनेछ, जसलाई महोत्सवको मुख्य आकर्षण मानिएको छ।

 

पर्यटन प्रवद्र्धनलाई मध्यनजर गर्दै मधुवनी डाँडाबाट प्याराग्लाइडिङ उडान, मरिणको पहिचान बनिसकेका माछा तथा तामा उत्पादनको विशेष प्रदर्शन, पञ्चकन्या पोखरी अवलोकन कार्यक्रम, तथा स्थानीय संस्कृति झल्काउने विविध झाँकीहरू प्रस्तुत गरिनेछन्। त्यसैगरी अन्तर–विद्यालय नृत्य प्रतियोगिता, चर्चित कलाकारहरूको मञ्च प्रस्तुति, तथा दोहोरी गीत कार्यक्रमले महोत्सवलाई थप जीवन्त बनाउनेछ।

 

मनोरञ्जनका लागि बाल उद्यान, सर्कस शो, झूला, पिङ, मौतकुवा लगायतका आकर्षक गतिविधिहरू निरन्तर सञ्चालनमा रहनेछन्। आयोजकको अपेक्षा अनुसार, यस वर्षको महोत्सवले मरिण क्षेत्रमा सांस्कृतिक र आर्थिक दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ

प्रतिक्रिया