सिन्धुली — नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि चयन प्रक्रियामा सिन्धुली जिल्लामा उत्साहजनक वातावरण बनेको छ। दुवै निर्वाचन क्षेत्रबाट अपेक्षाभन्दा धेरै संख्यामा पार्टी सदस्यहरूले उमेदवारी दर्ता गराएका छन्, जसले जिल्लामा आन्तरिक लोकतान्त्रिक अभ्यास थप सक्रिय बनेको संकेत दिएको छ।
एमाले सिन्धुलीका अनुसार जिल्लामा उपलब्ध १८ प्रतिनिधि सिटका लागि कुल ८५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। तीमध्ये क्षेत्र नं १ बाट ४६ जनाले र क्षेत्र नं २ बाट ३९ जनाले प्रतिस्पर्धाका लागि आफ्नो नाम दर्ता गराएका हुन्। पार्टीभित्रको प्रतिस्पर्धा देखिनेगरी दुवै क्षेत्रमा उमेदवारको चाप बढेको छ। महाधिवेशनमा समावेशी व्यवस्था अनुरूप रहेको दलित आरक्षित १ सिटका लागि पनि ७ जनाले उम्मेदवारी दिएका छन्। आरक्षित सिटमा समेत उच्च रुचि देखिनुले पार्टीको संगठनभित्र दलित समुदायको सहभागिता र सक्रियता बढेको देखिन्छ।
नेताहरूका अनुसार प्रतिनिधि छान्ने प्रक्रिया पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एमालेका स्थानीय नेताहरूले प्रतिनिधि छनोटलाई महाधिवेशन तयारीको महत्वपूर्ण चरणका रूपमा लिएको बताएका छन्।
प्रतिनिधि चयनको मतदान आगामी मंसिर १३ गते हुने जिल्ला कमिटीले जनाएको छ। मतदान व्यवस्थापन, सुरक्षा तथा प्रक्रिया सहज बनाउन आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ। सिन्धुलीमा देखिएको व्यापक उम्मेदवारी र पार्टी सदस्यहरूको चहलपहलले एमालेको महाधिवेशनले जिल्लामा पनि उल्लेखनीय राजनीतिक वातावरण बनाएको छ ।