शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली बजार एप –विदेशमा प्राप्त ज्ञानलाई जिल्लाकै विकासमा लगानी गर्ने युवा कुमार दुलालको प्रेरणादायी यात्रा

बुधवार , मंसिर १०, २०८२

सिन्धुली — सिन्धुली जिल्लामा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको उपयोग तीव्र बन्दै गइरहेको छ । यही डिजिटल परिवर्तनको केन्द्रमा “सिन्धुली बजार” एप छ — सुरुमा सामान्य ऑनलाइन फुड डेलिभरीका रूपमा संचालनमा आएको यो एप आज खाना–पानीदेखि लिएर दैनिक खरिद–बिक्री, कन्सर्ट टिकट, ऑनलाइन शपिङ, र कुरीयर सेवासम्म उपलब्ध गराउने बहुउद्देश्यीय डिजिटल प्लेटफर्म बनेको छ । तर, यस सफलता अगाडि एक दृढ सोच, शिक्षा र देशप्रेम बोकेको युवा छन—कुमार दुलाल ।

 

विदेशमा पढेर देशका लागि केही गर्नुपर्छ भन्ने सोच

कुमार दुलालले फिलिपिन्सबाट IT  विषयमा अध्ययन गरेका हुन् । पढाइ सकेर धेरैले जस्तै विदेशमै करिअर बनाउने अवसर भए पनि उनले फरक बाटो रोजे । “देश र आफ्नो जन्मभूमि सिन्धुलीका लागि केही गर्नै पर्छ” भन्ने दृढ विश्वाससहित उनले विदेशमा कमाएको ज्ञान र सीप घर फर्केर आफ्नो जिल्लामै लगानी गर्ने निर्णय गरे । र, यही सोचबाट जन्मियो — सिन्धुली बजार एप । दुलालको नेतृत्वमा यस एपले १२ जनालाई प्रत्यक्ष तथा २० भन्दा बढी युवालाई अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ—जसले सिन्धुलीको रोजगार, अवसर र उद्यमशीलता दुवैमा नयाँ उर्जा भरेको छ ।

 

 

सिन्धुली जिल्लामा पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यही डिजिटल परिवर्तनको अगुवाइ गर्दै सिन्धुली बजार ऑनलाइन एपले स्थानीय स्तरमा उल्लेखनीय प्रभाव पारेको छ । सिन्धुली बजार एपमार्फत अब सिन्धुलीका बासिन्दाले घरमै बसेर मनपर्ने खानेकुरा अर्डर गर्न सक्छन् । कुनै पनि समयमा छिटो, भरपर्दो, अनि सहज सेवालाई कारण स्थानीय उपभोक्तालाई दैनिक जीवनमा ठूलो सहजीकरण भएको छ । त्यति मात्र नभई—कन्सर्ट, कार्यक्रम तथा स्थानीय शोहरूका लागि घरमै बसेर अनलाइन टिकट किन्न मिल्ने सुविधा सुरु गरेपछि युवाहरू र कार्यक्रम आयोजकहरू दुवै लाभान्वित भएका छन् ।

 

 

विदेशसँगको दूरी घटाएको कुरीयर सेवा

अर्को महत्वपूर्ण उपलब्धि भनेको कुरीयर सेवा हो । विदेशमा रहेका परिवारजन वा कामकाजी नेपालीले पठाउने सामग्री अब सजिलै सिन्धुलीमै प्राप्त गर्न सकिन्छ । यसले समय र पैसाको बचत त गरेको छ नै, बुबाआमादेखि विद्यार्थीसम्म सबैलाई ठूलो राहत दिएको छ ।

 

स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव

 

घरमै बसी सामान मगाउने, व्यवसायीले आफ्ना वस्तुहरू डिजिटल रूपमा बेच्ने, आयोजकले कार्यक्रमका टिकट अनलाइन मार्फत बिक्री गर्ने—यी सबै कुराले सिन्धुलीको स्थानीय अर्थतन्त्रमा ठूला परिवर्तन ल्याइरहेको छ । सिन्धुली बजार एपले सिद्ध गरिदिएको छ कि—उद्यम गर्न चाहे, लक्ष्य ठूला नचाहिए पनि सहज समाधान र लगनशीलता पर्याप्त हुन्छ । युवा उद्यमी कुमार दुलालको यो पहलले सिन्धुलीलाई डिजिटल युगतिर धकेलेको छ र भविष्यमा अझ धेरै सम्भावना बोकेको छ ।

 

प्रतिक्रिया