शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मदन भण्डारी राजमार्गमा गाडी दुर्घटना, चार महिला घाइते

मंगलवार , मंसिर ९, २०८२

सिन्धुली,०९ मंसिर — मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१३, माथिल्लो रानिबास क्षेत्रमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा चार जना महिला घाइते भएका छन् । झापाबाट भिमानतर्फ आउदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स (हाइलक्स) गाडी अनियन्त्रित भई सडकछेउको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दिउँसो करिब १ बजेर ५५ मिनेटको समयमा भएको दुर्घटनामा गाडी चालक काठमाडौं महानगरपालिका–९ निवासी अन्दाजी ५४ वर्षका ओम नारायण सिंहले चलाएको गाडी आफैँ नियन्त्रण गुमाएर सडकको दायाँपट्टि रहेको विद्युत् पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडीमा सवार रहेका यात्रुहरू घाइते भएका थिए ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारको लागि महोत्तरीको बर्दिबासस्थित जनसेवा अस्पताल पठाइएको छ । अस्पताल स्रोतका अनुसार सबै घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–९ निवासी अन्दाजी ५३ वर्षीया लक्ष्मी कार्की, ५६ वर्षीया रिना सिंह, ४५ वर्षीया लक्ष्मी कटुवाल र ४३ वर्षीया लक्ष्मी सिंह रहेका छन् । उनीहरूलाई क्रमशः टाउको, घाँटी, कम्मर र हातमा चोट लागेको बताइएको छ ।

प्रहरीका अनुसार लक्ष्मी कार्की र रिना सिंहको अवस्था सामान्य रहेको छ भने लक्ष्मी कटुवालको कम्मरमा चोट लागेको तथा लक्ष्मी सिंहको घाँटीमा चोट बढी रहेकोले उनको अवस्था ‘मध्यम’ रहेको छ । चालक ओम नारायण सिंह पनि उपचार प्रक्रियामा संलग्न छन् ।

दुर्घटनापछि गाडी घटनास्थलमै रहेको र प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट तीव्र गति र सडकको असावधानी नै दुर्घटनाको मुख्य कारण हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयवासीहरूले मदन भण्डारी राजमार्गमा दिनप्रतिदिन सवारी चाप बढ्दै गएको र तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढेको भन्दै सडक सुरक्षा सतर्कता बढाउन माग गरेका छन् ।

प्रतिक्रिया