काठमाडौैं ,०९ मंसिर – दाहसंस्कारका लागि अन्तिम यात्रा तय गरिसकेकी थाइल्याण्डकी एक वृद्धा कफिनभित्रै जीवित भेटिएपछि सबै जना स्तब्ध बनेका छन् । बैंकक नजिकै रहेको नोन्थाबुरी प्रान्तको “वाट रात प्राखोङ थाम” बौद्ध मन्दिरमा घटेको यो घटना सामाजिक सञ्जाल हुँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चाको विषय बनेको छ ।
६५ वर्षीया ती महिला लामो समयदेखि ओछ्यानमै थलिएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि केही दिनअघि उनका भाइले उनलाई मृत ठानेर अन्त्येष्टि व्यवस्थाको तयारी थालेका थिए । फित्सानुलोक प्रान्तबाट करिब ५०० किलोमिटर यात्रा गर्दै बैंककतर्फ ल्याइएकी ती महिलालाई भाइले कफिनभित्र राखेर अस्पताल लगेको बताइएको छ । महिलाले पहिले नै आफ्नो निधनपछि अङ्ग दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् । तर अस्पतालले आधिकारिक मृत्यु प्रमाणपत्र नदेखाइ अङ्ग दान प्रक्रिया अघि बढाउन अस्वीकार गरेपछि परिवार अन्य व्यवस्थाका लागि उक्त बौद्ध मन्दिर पुगेको थियो ।
मन्दिरले निःशुल्क दाहसंस्कार सेवा प्रदान गर्दै आएकाले आइतबार महिला कफिनसहित मन्दिर ल्याइएकी थिइन् । आवश्यक कागजात अभावका कारण सेवा दिन नसकिने भन्दै अधिकारीहरू मृत्यु प्रमाणपत्रका विषयमा छलफल गरिरहेका बेला कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको मन्दिर प्रशासनले जनाएको छ । सुरुमा कसैले विश्वास नगरे पनि आवाज निरन्तर आएपछि कफिन खोल्ने निर्णय गरिएको थियो ।
कफिन खुल्नेबित्तिकै भित्र सुतिरहेकी महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिएको थियो । उनी अलिकति आँखा खोल्ने प्रयास गर्दै बाहिर सहयोग खोजिरहेकी थिइन् । प्रत्यक्षदर्शी मन्दिरका कर्मचारीहरूका अनुसार त्यो क्षण सबैजना स्तब्ध बनेका थिए । “हामीले विश्वास नै गर्न सकेनौँ । उनी केही समयदेखि भित्रैबाट ढकढक्याउँदै सहयोग मागिरहेकी हुनुपर्छ,” मन्दिरका व्यवस्थापक पैराट सुदथुपले बताएका छन् ।
घटना लगत्तै महिलाको स्वास्थ्य परीक्षण गरी नजिकैको अस्पताल पठाइएको छ । चिकित्सकहरूले तत्काल उपचार सुरु गरेका छन् । मन्दिरका मठाधीशले उनको उपचार खर्च स्वयंले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
यो घटनाले मृत्यु प्रमाणित गर्ने प्रक्रिया, स्वास्थ्य परीक्षणको संवेदनशीलता र आपतकालीन अवस्थाका विषयमा नयाँ बहस जन्माएको छ । मृत ठानिएकी एउटी महिला अन्तिम संस्कारको क्षणमै जीवित भेटिनु केवल चकित पार्ने घटना मात्र होइन, जीवन र मृत्युबीचको सूक्ष्म सीमारेखालाई स्मरण गराउने उदाहरण बनेको छ ।