सिन्धुली,०९मंसिर – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिन्धुलीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ । कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षाकर्मी र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
कमलामाई नगरपालिका–६, जुनारचोकबाट सुरु भएको कार्यक्रम मंगलवार बिहान ११ बजेदेखि प्रारम्भ भएको थियो । कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेल प्रमुख अतिथि रहनुभएको थियो भने नगर उप–प्रमुख मञ्जु देवकोटा, जिल्ला समन्वय समितिकी उप–प्रमुख शान्ता कार्की, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदी, सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म सिन्धुलीका सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण पोखरेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमअन्तर्गत सहभागीहरूले ‘लैङ्गिक हिंसा बन्द गरौँ’, “महिला सुरक्षा हाम्रो दायित्व’, ‘सही प्रविधि, सुरक्षित समाज’ जस्ता सन्देशमूलक नारा लेखिएको प्लेकार्ड बोकेर जुनारचोकबाट सुरु भएको ¥याली १ नम्बर बजार र २ नम्बर बजार हुँदै पुनः जुनारचोकमै आएर सम्पन्न भएको थियो । र्यालीपछि आयोजित सभामा वक्ताहरूले प्रविधिको दुरुपयोग बढ्दै गएकाले सामाजिक सञ्जाल र डिजिटल माध्यमलाई हिंसा फैलाउने माध्यम होइन, सचेतना र परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिएका थिए ।