शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गोलन्जोरका डाँडाकाँडा राताम्य : लालुपाते फूलले थप्यो पर्यटकीय आकर्षण

मंगलवार , मंसिर ९, २०८२

सिन्धुली,०९ मंसिर –– सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–स्थित माझकुभिण्डे क्षेत्रमा यतिबेला लालुपाते फूल ढकमक्क फुलेका छन् । डाँडा–पाखा राताम्य देखिने यी फूलले सम्पूर्ण क्षेत्रलाई प्राकृतिक सौन्दर्यले सजाएको छ । वर्षमा एउटा निश्चित समयमा मात्र फुल्ने लालुपाते फूलका कारण माझकुभिण्डे क्षेत्र यतिबेला प्राकृतिक बगैंचाजस्तै देखिएको छ ।

 

चिसो मौसमसँगै फुल्न थालेका यी फूलले वरिपरिका हरिया वनजंगल र पहाडी भू–भागलाई अझ आकर्षक बनाएको स्थानीयले बताएका छन् । विशेषगरी बिहानको समयमा घामको हल्का किरणसँगै लालुपाते फूलको रातो र गुलाबी आभाले सिंगो डाँडालाई स्वर्गीय दृश्यझैँ बनाएको छ ।

 

स्थानीय बासिन्दाका अनुसार, हरेक वर्ष मंसिरदेखि पुस महिनासम्म माझकुभिण्डे र आसपासका क्षेत्रमा लालुपाते फूल फुल्ने गर्छन् । तर यस वर्ष फूलको संख्या र फैलावट अघिल्ला वर्षभन्दा धेरै भएको उनीहरूको भनाइ छ । “यसपालि डाँडैभरि राताम्य भएको देख्दा यहाँ आउने जो–कोही अचम्मित हुन्छ,” स्थानीयवासी बताउँछन् ।

 

लालुपाते फूल केवल सौन्दर्य मात्र नभई यस क्षेत्रको पर्यावरणीय सन्तुलनसँग पनि जोडिएको छ । जैविक विविधता संरक्षणमा यसको भूमिका महत्वपूर्ण मानिन्छ । फूल फुल्ने मौसममा मौरी, पुतली र विभिन्न परागवाहक कीराहरू यहाँ आकर्षित हुने हुँदा प्राकृतिक चक्रमा यसले विशेष योगदान पु¥याउने विज्ञहरूको भनाइ छ ।

 

यतिबेला माझकुभिण्डे क्षेत्र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वनभोज, फोटो खिच्न तथा प्राकृतिक दृश्य अवलोकन गर्न सिन्धुलीका विभिन्न भाग मात्र नभई बाहिरी जिल्लाबाट समेत मानिसहरू यहाँ पुग्न थालेका छन् । विशेषगरी युवायुवती र प्रकृतिप्रेमीका लागि यो स्थान नयाँ ‘नेचर स्पट’ का रूपमा परिचित हुँदै गएको छ ।

 

गोलन्जोर गाउँपालिकाले समेत यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । स्थानीय जनप्रतिनिधिहरू भन्छन्, “लालुपाते फुल्ने यो समयलाई अवसरका रूपमा प्रयोग गर्न सके यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।” भविष्यमा पदमार्ग, विश्रामस्थल र सूचना बोर्डको व्यवस्था गरिए यहाँ आउने पर्यटकलाई थप सहज हुने उनीहरूको धारणा छ ।

 

तर, सुन्दरता सँगसँगै संरक्षण चुनौती पनि देखिएको छ । कतिपय आगन्तुकले फूल टिप्ने, फोटो खिच्ने क्रममा जथाभावी कुल्चिने जस्ता गतिविधि गर्ने गरेको स्थानीय चिन्ता व्यक्त गर्छन् । यस प्रकारका गतिविधिले प्राकृतिक सम्पदामा क्षति पुग्ने भएकाले सबैले संरक्षणमा सचेत हुनुपर्ने बताइएको छ ।

 

लालुपाते फूलले सजिएको माझकुभिण्डे यतिबेला सिन्धुलीको एक महत्वपूर्ण प्राकृतिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्रकृतिले दिएको यो अनुपम उपहारलाई संरक्षण गर्दै यसको दिगो उपयोग गर्न सके यो क्षेत्र आगामी दिनमा प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना रहेको स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया