सिन्धुली,०८ मंसिर — ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीस्थित रानी दरबार पुनर्निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि उचित संरक्षण र उपयोगको अभावमा अलपत्र अवस्थामा पुगेको छ । राष्ट्रिय गौरवको धरोहरको रुपमा चिनिने दरबार पुनर्निर्माणका क्रममा राज्यले ठूलो रकम खर्च गरे पनि त्यसपछि आवश्यक व्यवस्थापन र पूर्वाधार विकासमा खासै ध्यान नदिइएको स्थानीयवासीहरूले गुनासो गरेका छन् ।
वि.सं. १८२४ मा अंग्रेज फौजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धसँग जोडिएको यस स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले केही वर्षअघि संघीय सरकार र पुरातत्व विभागको सहकार्यमा दरबारको पुनर्निर्माण गरिएको थियो । तर पुनर्निर्माणपछि आवश्यक सूचना केन्द्र, पर्यटक सेवा, सुरक्षाको व्यवस्था र नियमित मर्मतसम्भारको अभावले यो दरबार अहिले उपेक्षित बनेको छ ।
स्थानीय युवा तथा पर्यटन व्यवसायीहरूका अनुसार दरबार क्षेत्रसम्म पुग्ने सडकको अवस्था कमजोर छ भने खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत सुविधा पनि उपलब्ध छैनन् । “सरकारले करोडौँ खर्चेर भवन त बनायो, तर त्यसलाई चलायमान बनाउने दीर्घकालीन योजना नै देखिएन,” सिन्धुलीगढी संरक्षण अभियानमा सक्रिय स्थानीय अभियन्ता बद्री थापाले बताए । उनिहरुका अनुसार संरक्षण अभावकै कारण दरबारको संरचना विस्तारै जीर्ण बन्दै जान थालेको छ ।
पर्यटन विज्ञहरू भने सिन्धुलीगढी क्षेत्रलाई व्यवस्थित गरे मुलुककै महत्वपूर्ण ऐतिहासिक र धार्मिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताउँछन् । उनीहरूका अनुसार रानी दरबार, ऐतिहासिक तोप स्थल, युद्ध संग्रहालय र वरपरका धार्मिकस्थललाई एकीकृत पर्यटकीय प्याकेजका रूपमा विकास गर्न सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ ।
यस विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल हुन नसकेको बताउँछन् । स्थानीय बासिन्दाहरू भने तत्काल संरक्षण योजना ल्याई दरबार क्षेत्रलाई जीवन्त पर्यटकीय केन्द्रमा रूपान्तरण गर्न सरकारसँग माग गरिरहेका छन् ।
[video width="478" height="850" mp4="https://sindhulisaugat.com/media-file/images/2025/11/WhatsApp-Video-2025-11-24-at-11.18.40_1de43664-1.mp4"][/video]