सिन्धुली,०७ मंसिर — बाढीले तहसनहस पारेको बीपी राजमार्गमा एक वर्षपछि बल्ल पुनःनिर्माणका काम सुरुभएको छ । ३०.५ किलोमिटर क्षतिग्रस्त खण्डमध्ये २७.३ किलोमिटरमा ठेक्का सम्झौता भएर निर्माण व्यवसायीहरू मेसिनसहित मैदानमा उत्रिसकेका छन् । तर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गर्ने भनिएको ३.२ किलोमिटर खण्ड भने अझै प्रक्रियामै अडकिएको छ, जसले आउँदो बर्खामा समस्या दोहोरिन सक्ने जोखिम कायमै राखेकणे छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार, ठेक्का भइसकेका खण्डमा कामले तीव्रता पाइसकेको छ । “जहाँ ठेक्का भइसकेको छ, त्यहाँ अब बर्खामा समस्या हुन दिँदैनौं,” उनले भने, “तर जाइकाको खण्डमा ढिलाइ भएकाले त्यो क्षेत्र जोखिममै छ ।” भकुन्डेबेसीदेखि नेपालथोकसम्मको यो मार्गलाई दुई लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
काभ्रे र सिन्धुलीतर्फ गरी तीन प्याकेजमा काम अघि बढाइएको छ । भकुन्डेबेसीदेखि चारसयबेसीसम्मको ११ किलोमिटर खण्डको जिम्मा लामा–नवकान्तिपुर जेभीले लिएको छ, जसको ठेक्का रकम १ अर्ब १४ करोड रुपैयाँ छ । चारसयबेसीदेखि डालाबेसीसम्मको ९ किलोमिटर खण्ड खानी–कमलजित–एवान जेभीले १ अर्ब २२ करोड रुपैयाँमा सम्हालेको छ । यी दुवै ठेक्काको सम्झौता गत असारमा भएको हो ।
पिप्लेदेखि डालाबेसीसम्मको २.३ किलोमिटर खण्ड उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा लिएको छ । यो सम्झौता गत कात्तिकमा सम्पन्न भएको थियो । जाइकाले निर्माण गर्ने पिप्लेदेखि बर्खे खोलासम्मको ३.२ किलोमिटर खण्ड भने जापान सरकारको झण्डै २ अर्ब ६३ करोड रुपैयाँ अनुदानमा बन्ने तयारीमा छ । तर डिजाइन अन्तिम चरणमा नपुग्दा ठेक्का सम्झौता हुन सकेको छैन । सडक विभागका अनुसार जाइकाको काम वैशाखतिर मात्रै सुरु हुन सक्ने र सन् २०२७ को अन्त्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।
सिन्धुलीतर्फ पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किलोमिटर खण्ड खरिढुंगा–घिसिङ–क्षितिज जेभीले ५५ करोड रुपैयाँमा पाएको छ । उक्त खण्डको सम्झौता गत असारको दोस्रो सातामै भएको थियो । यो सम्पूर्ण आयोजनाका लागि भक्तपुर डिभिजनलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको सडक विभागले जनाएको छ ।
तर सडक विस्तारसँगै अत्यन्तै संवेदनशील विषय बनेको छ,पुल निर्माण । राजमार्गमा रहेका अधिकांश पुल साँघुरा र सिंगल लेनका हुँदा सधैँजसो ट्राफिक जाम हुने समस्या यथावत् छ । पुल निर्माणका लागि भने धेरै स्थानमा अझै ठेक्का नै हुन सकेको छैन भने ठेक्का भएका पुलमा पनि प्रगति सुस्त देखिएको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार अब पुलहरू पनि दुई लेनमा विस्तार गर्ने गरी अध्ययन थालिएको छ । दाप्चा खोला, रोशी खोला, नार्के र भकुन्डेबेसी क्षेत्रमा नयाँ पुल निर्माणको तयारी भइरहेको छ । माम्ती र कालढुंगामा भने पुलको ठेक्का भइसके पनि अझै पूर्णरूपमा सम्पन्न भएका छैनन् । माम्ती पुलमा फिनिसिङको काम मात्र बाँकी छ भने कालढुंगामा डिजाइनमै पुनर्विचार भइरहेको छ ।
बाढीले बारम्बार क्षतिग्रस्त बनाउँदै आएको बीपी राजमार्गलाई अब दिगो रूपमा पुनर्निर्माण गर्ने सरकारी दाबी छ । तर सबै खण्डमा समान गतिले काम अघि नबढे आगामी बर्खामा फेरि पनि यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी सडक विभागकै अधिकारीहरूले दिएका छन् ।