शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अराजकता, लागुऔषध र असुरक्षाले बढायो चिन्ता

आइतवार , मंसिर ७, २०८२

सिन्धुली०७ मंसिर — — राजधानी काठमाडौँलाई तराई–मधेससँग जोड्ने प्रमुख ट्रान्जिट जिल्लाका रूपमा रहेको सिन्धुली पछिल्ला वर्षहरूमा सामाजिक सुरक्षाको दृष्टिले क्रमशः संवेदनशील बन्दै गएको छ । संगठित अपराधमा केही हदसम्म नियन्त्रण आए पनि सामाजिक अपराध, अराजक गतिविधि र असामाजिक प्रवृत्तिमा भने उल्लेख्य वृद्धि देखिएको छ, जसले जिल्लाको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै लगेको छ ।

जिल्ला प्रहरी कार्यालय, अदालत र स्थानीय तहका न्यायिक समितिमा दर्ता हुने मुद्दाको संख्या हेर्दा पनि सामाजिक अपराधका घटनाहरू बढिरहेको स्पष्ट देखिन्छ । झैँ–झगडा, घरेलु हिंसा, लागूऔषध दुरुपयोग, सार्वजनिक स्थलमा अराजक गतिविधि, तस्करी र अवैध कारोबारजस्ता घटना स्थानीयस्तरमै बढ्दै गएको बताइन्छ । यसले शान्त जिल्ला भनेर चिनिँदै आएको सिन्धुलीको सामाजिक संरचनामाथि प्रश्न उठाएको छ ।

सिन्धुली तीनवटा प्रमुख राजमार्ग जोड्ने रणनीतिक बिन्दु भएकाले यहाँ लागुऔषध ओसारपसार, अवैध सामान तस्करी तथा मानव आवतजावत सहज रहेको सुरक्षाकर्मीको भनाइ छ । विशेषगरी विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र सम्भावित फास्ट ट्र्याक क्षेत्र आसपास अवैध गतिविधि नियन्त्रण प्रहरीका लागि मुख्य चुनौती बनेको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देबकोटा लोकतन्त्रको अभ्यासले नागरिकको अपेक्षा पूरा गर्न नसक्दा समाजमा निराशा बढेको बताउँछन् । “राज्यले जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन देखाउन सकेन, बेरोजगारी र असमानताको खाडल बढ्दै गयो र यही अवस्थाले अदृश्य शक्ति तथा अपराधजन्य सोचलाई प्रश्रय दियो,” उनले उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ भने सामाजिक अराजकताको जड गरिबी, अशिक्षा र बढ्दो आर्थिक संकट भएको बताउँछिन् । उनका अनुसार समस्याको समाधान दण्ड र डरभन्दा बढी सामाजिक चेतना र सकारात्मक अभियानबाट सम्भव छ । “समाजलाई अनुशासनमा राख्न केवल सुरक्षाकर्मी होइन, अभिभावक, विद्यालय, नागरिक समाज र स्थानीय सरकार सबै सक्रिय हुनुपर्ने अवस्था आएको छ,” श्रेष्ठले भनिन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यप्रकाश सुबेदीले अपराध नियन्त्रणमा प्रहरी एक्लैले सबै सम्भव नहुने बताउँदै नागरिक सहयोग अपरिहार्य रहेको जनाए । “क्षणिक स्वार्थका लागि सामाजिक सद्भाव बिगार्नुको साटो सहकार्य र आपसी विश्वासको बाटो रोज्न आजको समाजलाई आवश्यकता छ,” उनले भने ।

विश्लेषकहरू सामाजिक अराजकताको समस्या केवल प्रहरीको दायराभित्र सीमित नरहेको बताउँछन्। उनीहरूका अनुसार बेरोजगारी, बढ्दो युवा निराशा, अनियन्त्रित शहरीकरण, मादक पदार्थको पहुँच, प्रविधिको दुरुपयोग र कमजोर सामाजिक नियमनले अपराधजन्य गतिविधि बढ्न मद्दत पु¥याइरहेको छ । यदि यिनै कारणको दीर्घकालीन सम्बोधन नगर्ने हो भने समस्या अझ जटिल बन्दै जाने विज्ञहरूको चेतावनी छ ।

स्थानीय बासिन्दाहरू भने पछिल्ला वर्षमा सार्वजनिक सुरक्षामा भएको ह्रासप्रति चिन्तित छन्। उनीहरू विद्यालय जाने बालबालिका, एक्लै हिँडडुल गर्ने महिला र वृद्धहरू असुरक्षित महसुस गर्न थालेको बताउँछन्। “पहिलेजस्तो खुला र सहज वातावरण रहेन,” एक स्थानीय व्यवसायीले भने, “अब सानातिना विवाद पनि चाँडै हिंसात्मक बन्दै जान थालेका छन् ।”

यसैबीच, जिल्ला समन्वय समिति र स्थानीय तहले सामुदायिक प्रहरी साझेदारी, सचेतनामूलक कार्यक्रम, युवा लक्षित कार्यक्रम तथा लागुऔषध बिरुद्धका अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेका छन् । तर, यी पहलहरू परिणाममुखी बनाउन राज्यका सबै निकायबीच समन्वय र निरन्तर निगरानी आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।

सिन्धुली आज केवल भौगोलिक रूपमा महत्वपूर्ण जिल्ला मात्रै होइन, सामाजिक स्थायित्वको हिसाबले पनि संवेदनशील मोडमा उभिएको छ । सामाजिक अराजकता नियन्त्रणमा राज्य संयन्त्र, नागरिक समाज र आम जनताको साझा प्रयास बिना सुरक्षित र सभ्य समाजको कल्पना असम्भव देखिन्छ ।

प्रतिक्रिया