सिन्धुली,०७ मंसिर — कमला नदीको निरन्तर कटानले दुधौली र कमलामाई क्षेत्रका उर्वर खेतहरू बगरमा बदलिँदै गएपछि सयौं किसान आज भूमिहीनको पीडा भोग्दै बाँच्न बाध्य बनेका छन् । कुनै समय आफ्नै खेतमा धान झुलेको हेरेर गर्व गर्ने किसानहरू अहिले नदी किनारको बगर हेर्दै आँखा रसाइरहेका छन् । कृषिमा आत्मनिर्भर रहन सकेका परिवारहरू आज दैनिक ज्यालादारी मजदुरी गरेर जीवन धान्नुपर्ने अवस्थामा पुगेका छन् ।
दुधौली नगरपालिका–९ का रामप्रसाद दनुवार कहिल्यै नबिर्सने स्मृतिहरू सम्झँछन् । “पहिले हाम्रो खेतमा धान लहलहाउँथ्यो, रोपाइँको बेला पर्म आउँथ्यो, खेतालालाई घुघुंसी र मिठो खाजाले सत्कार गरिन्थ्यो,” उनि भन्छन्, “अहिले त्यो खेत छैन, कमलाले सबै लुटेर लग्यो ।” दुई बिघा उर्वर जमिन आज बालुवामात्र बाँकी बगरमा परिणत भएको छ । खेत गुमाउँदा उहाँ भूमि स्वामीबाट मजदुर बन्न बाध्य भए ।
कमलाखोंच क्षेत्र कुनै बेला सिन्धुली जिल्लाकै धान उत्पादनको प्रमुख फाँट मानिन्थ्यो । तर विगत चार दशकदेखि कमला नदीको कटानले दुधौलीका हत्पते, रानीवास, निपाने, हर्षाही, टाडी, सिर्थौली र लदाभिर क्षेत्र तथा कमलामाई नगरपालिका–८, ९, १०, १३ र १४ का बस्तीहरू निरन्तर प्रभावित हुँदै आएका छन् । २०४१ र २०५० सालमा आएको भीषण बाढी पहिरोपछि कटानले तीव्रता पाएको स्थानीयको भनाइ छ ।
दुधौली–२ का किसान बुधे कुमारको आँखामा पनि पीडाकै आँसु देखिन्छ । तीन वर्षअघि कमलामा आएको बाढीले उहाँको १० कठ्ठा खेत बगाएपछि जीवन नै उल्टिएको छ । “पहिले आफ्नै खेतको अन्नले परिवार चल्थ्यो,” उनले भने, “अहिले अर्काको खेतमा काम नगरे घरमा चुलो बल्दैन ।” यस्तै पीडा दुधौली–६ हर्षाहीका दुर्गाबहादुर घिसिङको पनि छ । गत वर्षको बाढीले सात कठ्ठा खेत गुमाएपछि उहाँको परिवार खाद्य संकटमा परेको छ ।
स्थानीयका अनुसार कमला नदीले दुधौली नगर क्षेत्रमा मात्र करिब २०० घरपरिवारका ४०० बिघाभन्दा बढी खेतीयोग्य भूमि कटान गरेर बगर बनाइसकेको छ । तर नदीजन्य क्षतिको आधिकारिक तथ्यांक सम्बन्धित निकायसँग छैन । किसानहरू भन्छन्, क्षतिको लेखाजोखा नहुँदा पीडितका समस्या नीति निर्माण तहसम्म पुग्न सकेका छैनन् ।
नदी नियन्त्रणका लागि विगतमा प्रभावकारी काम नहुँदा वर्षेनी नयाँ परिवार सुकुम्वासी बन्दै गएको किसानको गुनासो छ । “नदी नियन्त्रण नहुँदा कहिले कसको खेत जान्छ भन्ने डरमै बाँचिरहेका छौं,” किसानहरू भन्छन् ।
यद्यपि कमला नदी नियन्त्रणका लागि करिडोर सडकसहित तटबन्ध निर्माणको थालनी भएपछि केही आशा पलाएको छ । कमला नदीको बगरमा हराउँदै गएको खेत र बग्दै गएको किसानको सपना अब राज्यको प्रभावकारी हस्तक्षेपको प्रतीक्षामा छ । नत्र भने उर्वर जमिनसँगै यस क्षेत्रको कृषि भविष्य बालुवामै गाडिने खतरा स्थानीयले देखाएका छन् ।