शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अनुगमन बिना भुक्तानी ? काउलेखोला लिफ्ट सिचाइ विवादमा

शनिवार , मंसिर ६, २०८२

सिन्धुली,०६ मंसिर – गोलञ्जोर गाउँपालिका–५ नयाँखर्कस्थित काउलेखोला लिफ्ट सिचाइ आयोजना फेरि विवादको घेरामा परेको छ । निर्माणाधीन आयोजनामा चरम अनियमितता भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताहरूले कडा असन्तुष्टि जनाएका छन् । उपभोक्ताको उपस्थितिबिना अनुगमन प्रतिवेदन तयार गरी अपूरो काममै रकम भुक्तानी गरिएको दाबी गर्दै उनीहरूले १५ दिनभित्र पुनःअनुगमन नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिने चेतावनी दिएका छन् ।

संघीय सरकारको सशर्त कार्यक्रमअन्तर्गत सञ्चालित आयोजनामा ठेकेदार र स्थानीय तहबीच मिलेमतोमा अनियमितता भएको स्थानीयको आरोप छ। उपभोक्ताहरूका अनुसार काम अझै अधुरो अवस्थामा छ, तर कागजी रूपमा ‘सम्पन्न’ देखाउँदै भुक्तानी निकासा गरिएको छ । अनुगमन समितिको संयोजकसमेत रहेका गाउँपालिकाका उपाध्यक्ष आयोजना स्थलमै नगई प्रतिवेदन तयार गरी भुक्तानी सिफारिस गरेको आरोप स्थानीयहरूले लगाएका छन् ।

कात्तिक ३० गते बसेको उपभोक्ताको आम भेलाले १५ दिनभित्र स्थलगत पुनःअनुगमन नभए अख्तियारसहित माथिल्ला निकायमा उजुरी गर्ने निर्णय गरेको उपभोक्ता समितिका अध्यक्ष कुमारलाल श्रेष्ठले जानकारी दिए । उनले भने “जनताको सिँचाइ अधिकारसँग खेलबाड गर्ने काम सह्य हुँदैन, निष्पक्ष छानबिन भएन भने कानुनी बाटोमा जान बाध्य हुनेछौं ।”

तर गाउँपालिकाले भने सबै आरोप अस्वीकार गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पुकार न्यौपानेले प्राविधिक स्टमेटअनुसारकै काम भएको दाबी गर्दै कामको अवस्थाअनुसार मात्र भुक्तानी गरिएको बताए । “काम सम्पन्न भइसकेको छ, तर विद्युतको थ्री–फेज लाइन नहुँदा पानी सञ्चालन हुन सकेको छैन । स्टमेटअनुसार काम नभएको भन्ने आरोप निराधार हो,” उनले भने।

ठेकेदार दिपक थापाले पनि आरोप अस्वीकार गरेका छन् । ६० लाख लागत अनुमान भएको आयोजनामा करिब ५१ लाखको ठेक्का लिएर ९० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । “थ्री–फेज लाइनको व्यवस्था स्टमेटमै नहुँदा आयोजना पूर्णरूपमा सञ्चालनमा जान सकेको छैन। गुणस्तरहीन काम गरेको भए प्राविधिकले कसरी पास गरे ?” उनले भने । उनले स्थानीय आरोप ‘प्रतिशोध’ प्रेरित भएको दाबी गरे। सम्भावित चोरी रोक्न मोटर र उपकरण गाउँपालिकाको जिम्मा लगाइएको बताए ।

तर स्थानीय उपभोक्ताहरू सन्तुष्ट छैनन् । ५७ जनाको हस्ताक्षरसहित दर्ता गराइएको उजुरीमा उपभोक्ता कृष्णकुमार थापाले सुरु दिनदेखि नै गुणस्तरहीन काम गर्न खोजिएको आरोप लगाए । उनका अनुसार ढलानका क्रममा सिमेन्ट–बालुवाको अनुपात नमिलाई मिक्सचरबिनै काम गर्न प्रयास भएपछि स्थानीयले रोकेको थिए । “फिल्डमै नपुगी ‘सबै ठीक’ भनेर भुक्तानी दिनु नै मिलेमतोको प्रमाण हो,” उनले आरोप लगाए ।

उपभोक्ता, गाउँपालिका र ठेकेदारबीचको आरोप–प्रत्यारोपसँगै काउलेखोला लिफ्ट सिचाइ आयोजना अहिले विवादको केन्द्रमा पुगेको छ। अब गाउँपालिकाले लिने निर्णय र हुने पुनःअनुगमनले यो विवाद समाधानतर्फ जान्छ कि थप जटिल बन्छ, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया