सिन्धुली,०३ मंसिर – सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित फिटिङपुल नजिक वि.पि.राजमार्गमा मंगलवारबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौंतर्फबाट झापा जाँदै गरेको हायस र विपरीत दिशाबाट भिमान हुँदै सिन्धुलीतर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला झापा, गौरदह नगरपालिका–५ का २५ वर्षीय दिपेन तामाङले चलाइरहेको बा ४ ख ४१९० नम्बरको हायस र भक्तपुर नगरपालिका–३ सानोठिमी बस्ने ३० वर्षीय हेमन्त पन्च रायले चलाइरहेको बा ८७ प ४०५० नम्बरको मोटरसाइकल दिउँसो करिब १२ः३० बजे ठोक्किएको प्रहरी जनाएको छ । ठोक्किँदा मोटरसाइकल चालक पन्च रायको दायाँ हात भाँचिनुका साथै बायाँ खुट्टा र निधारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
त्यसैगरी, मोटरसाइकलमा सवार काठमाडौं नारायणस्थान नगरपालिका–९ बस्ने २९ वर्षीया सुनिता गुरुङ समेत घाइते भएकी छन् । गुरुङको टाउकोमा गम्भीर चोट लागेको र उनकी अवस्था पनि मध्यम रहेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । दुवै घाइतेलाई उद्धार गर्दै तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा भर्ना गरिएको छ ।
दुर्घटनामा हायस र मोटरसाइकल दुबै क्षतिग्रस्त भएका छन् । हायस चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब सात किलोमिटर पूर्वमा पर्ने उल्लेख छ ।
वि.पि. राजमार्गको यो खण्डमा सवारी चाप अत्यधिक हुने भएकाले दुर्घटनाको जोखिम पनि बढ्दै आएको स्थानीयवासी बताउँछन् । प्रहरीले चालकलाई सावधानीपूर्वक सवारी चलाउन अनुरोध गर्दै दुर्घटनाका कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ ।