शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको गौरवः १७ वर्षीय कुशल थापाको बालसञ्जालदेखि अन्तर्राष्ट्रिय उडान सम्म

बुधवार , मंसिर ३, २०८२

सिन्धुली,०३मंसिर – सिन्धुली जिल्लामा जन्मेका होनहार, कुशल वक्ता तथा बहु–प्रतिभाका धनी कुशल थापा छोटो उमेरमै नेतृत्व, वक्तृत्वकला र सामाजिक सक्रियतामा उदाहरणीय मान्छे बनेका छन् । अहिले १७ वर्षका उनी सिद्धस्थली इङ्लिस बोर्डिङ हाई स्कुलका कक्षा १२ का छात्र हुन् ।

कुशल थापाले कमलामाई नगरपालिकाको नगरस्तरीय बाल सञ्जालको अध्यक्ष भएर नेतृत्व क्षमता प्रमाणित गरिरहेका छन् । उनको नेतृत्वमा वडा नं. ६ लाई ‘बालमैत्री वडा’ घोषणा गराउन सफल हुनु उनको उल्लेखनीय उपलब्धिमध्ये एक हो, जसले स्थानीय स्तरमै उदाहरणीय सामाजिक परिवर्तनको दिशा देखाएको छ ।

कुशलले नेपाली सेनाको सी.सं १९ सिनियर डिभिजन एनसीसी तालिमम १० जिल्लाका ५१८ सहभागीमध्येबाट सर्वोत्कृष्ट छात्र बन्न सफल भएका छन् । उनले कम्पनी जुनियर अन्डर अफिसर सर्वोत्कृष्ट छात्रको सम्मान पाएको मात्र होइन, कडा प्रतिस्पर्धाबाट आफूलाई उभ्याउँदै उच्च अनुशासन, मेहनत र नेतृत्वको उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनी अब नेपाली सेनाको युवा आदान–प्रदान कार्यक्रम अन्तर्गत सिन्धुलीबाट एकमात्र प्रतिनिधिका रूपमा भुटानमा नेपालको तर्फबाट सहभागी हुन लागेका छन् । अन्तर्राष्ट्रिय मंचमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नु कुशलको जीवनमा अर्को सिँढी सावित भएको छ ।

सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका कुशलका बुवा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत हुनुहुन्छ । परिवारको अनुशासन, इमानदारी र लगनशिलताको वातावरणमै हुर्किएका कुशल विद्यालय, पालिका, जिल्ला र प्रदेशस्तरका दर्जनौँ अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा सर्वोत्कृष्ट बन्दै सम्मानित भइरहेका छन् ।

सानै उमेरदेखि मेहनत, त्याग र अनुशासनमा विश्वास राख्ने कुशलले भविष्यमा नेपालको मुख्य सचिव बन्ने लक्ष्य लिएर अघि बढिरहेका छन्। उनी साँच्चिकै ‘हुने बिरुवाको चिल्लो पात’ को जीवन्त उदाहरण हुन् । उनी भन्छन, “देशलाई चाहेको खण्डमा, जहाँ–जसरी सके पनि सेवा गर्छु ।”

उनको देशप्रेम, आत्मविश्वास र निरन्तर मेहनतले उनी आगामी दिनहरूमा सिन्धुली मात्र होइन, सम्पूर्ण नेपालको गौरव बन्ने विश्वास दिलाउँछ । उनको सफलताले जिल्लाका अन्य बाल–युवालाई पनि निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रति समर्पित हुन प्रेरणा दिने निश्चित छ ।

प्रतिक्रिया