सिन्धुली,०३ मंसिर — गोलन्जोर गाउँपालिकामा अवस्थित १५ शैयाको गोलन्जोर आधारभूत अस्पतालले सोमवारदेखि २४ घण्टे आकस्मिक सेवा औपचारिक रूपमा प्रारम्भ गरेको छ । पाँच शैयाको आकस्मिक कक्षसहित विस्तार गरिएको यो अस्पताल अब स्थानीयबासी मात्र होइन, छिमेकी पालिका र जिल्लाका बासिन्दाका लागि पनि स्वास्थ्य सेवाको भरपर्दो गन्तव्य बन्दै गएको छ ।
अस्पतालमा फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला सेवासहित आधारभूत स्वास्थ्य सेवाका अधिकांश सुविधा सञ्चालनमा आएसँगै गोलन्जोर, फिक्कल र सुनकोशी गाउँपालिकाका नागरिकले अब नजिकैबाट उपचार सुविधा पाउने भएका छन् । साथै, अस्पताल रामेछाप, ओखलढुंगा र खोटाङ जिल्लाका सीमावर्ती बस्तीका मानिसलाई समेत लक्षित गरी सेवा विस्तार गर्दै अघि बढेको छ ।
मध्यपहाडी लोकमार्गको छेउमै रहेको गोलन्जोर अस्पताल भौगोलिक रूपमा पनि सहज पहुँचमा परेकाले ग्रामीण भेगका बिरामीलाई उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता अब कम हुँदै जानेछ । विगतमा आधारभूत उपचारका लागि सिन्धुलीमाढी, धुलिखेल, काठमाडौं वा निजी अस्पताल धाउनुपर्ने अवस्था अब अन्त्यतिर उन्मुख भएको स्थानीयहरूले भावना व्यक्त गरेका छन् ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालका अनुसार, अस्पताललाई क्रमिक रूपमा थप व्यवस्थित, सक्षम र प्रगतिशील बनाउँदै लैजाने कार्ययोजना अघि बढिरहेको छ । जनशक्ति व्यवस्थापन, उपकरण विस्तार र सेवा गुणवत्ता सुधारका विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।
स्थानीय स्तरमै २४ घण्टा स्वास्थ्य सेवा उपलब्ध भएपछि आकस्मिक अवस्थाका बिरामी, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष राहत मिल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले अस्पतालमार्फत ग्रामीण भेगमा सुलभ, समयमै र गुणस्तरीय सेवा पु¥याउने लक्ष्य राखेको छ । स्वास्थ्य सेवामा समयमै पहुँच नपाएर ज्यान जोखिममा पार्नुपर्ने अवस्था क्रमशः कम हुँदै जानेमा पालिका विश्वस्त छ ।
गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखाले सामुदायिक सहभागिता, स्थानीय निकायको समन्वय र सरकारी निकायहरूको सहकार्यमा अस्पताललाई आधुनिक स्वरूप दिन थप स्रोत परिचालनका पहल गरिरहेको जानकारी दिएका छन् । “अस्पतालको सेवा वृद्धि नागरिककै सहयोग, सुझाव र निरन्तर निगरानीबाट सम्भव छ,” अध्यक्ष बरालल भने, “सबैको साथ मिलेर यसलाई ग्रामीण क्षेत्रको आदर्श स्वास्थ्य संस्था बनाइनेछ ।”
स्थानीय बासिन्दाहरूले पनि अस्पतालमा सुरु भएको २४ घण्टे सेवाले ज्यानै बचाउने अवस्थाहरूमा ठूलो राहत मिल्ने प्रतिक्रिया दिएका छन्। आकस्मिक प्रसूति सेवा, दुर्घटना उपचार, र प्रयोगशाला सेवा घरमै नजिक उपलब्ध भएपछि समय, खर्च र जोखिममा ठूलो कमी आउने उनीहरूले बताएका छन् ।
गोलन्जोर आधारभूत अस्पतालले समग्र सिन्धुली क्षेत्रको स्वास्थ्य क्षेत्रको पहुँच र प्रभावकारिता सुधारतर्फ महत्वपूर्ण कदम अघि बढाएको स्थानीयवासी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू सबैको साझा धारणा रहेको छ । आगामी दिनमा थप सेवा विस्तार, विशेषज्ञ चिकित्सकको व्यवस्था तथा डिजिटल स्वास्थ्य प्रविधिको प्रयोगमार्फत अस्पताललाई अझ सक्षम बनाउने पालिकाको योजना रहेको बताइएको छ ।