शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अधिकृत बन्ने सपना लिएर राजधानी पुगेका सिन्धुलीका योगेन्द्र बानेश्वरको भीडमा सदाका लागि हराए

सोमवार , मंसिर १, २०८२

सिन्धुली,०१ मंसिर – गोलञ्जोर गाउँपालिका–१ च्याखुटारका २५ वर्षीय योगेन्द्र न्यौपानेको जीवन लक्ष्य स्पष्ट थियो निजामती सेवामा प्रवेश गरेर देशका लागि काम गर्ने । स्थायी शिक्षक परिवारमा जन्मिएका, शान्त, मिहिनेती र अध्ययनशील युवा योगेन्द्र उत्कृष्ट अधिकृत बन्ने अभिलाषा बोकेर काठमाडौँ पुगेका थिए । लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरिसकेका उनी मौखिक परीक्षामार्फत आफ्नो नाम निकाल्ने दृढ विश्वासमा तयारीमा थिए । तर सोही तयारीको बीचमा उनको जीवन अनपेक्षित रूपमा बानेश्वरको सडकमा टुट्यो ।

भदौ २३ गते काठमाडौँमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनी दुर्भाग्यपूर्ण रूपमा ज्यान गुमाउन पुगे । सरकारी सेवामा प्रवेश गरेर समाज सुधार्न चाहने युवाको जीवन राजधानीकै आन्दोलनमा अन्त्य हुनु परिवार, स्थानीयवासी र गाउँकै युवामाझ गहिरो शोकको विषय बनेको छ ।

न्यौपाने परिवारले योगेन्द्रबाट धेरै आशा राखेका थिए । दशैंमा घर फर्कने योजना उनले केही दिन अघि मात्र फोनमार्फत सुनाएका थिए । “छोरा दशैंमा घर आउँछु भनेको थियो। अब त्यो स्वर कहिल्यै नफर्कने भयो,” आमाको नयनभरीका आँसु आज पनि सुकेको छैन । बुबा युवराज न्यौपाने, जो स्वयं स्थायी शिक्षक हुन्, छोराले लोकसेवा सफलतापूर्वक पास गर्ने पूर्ण आशामा थिए। तर त्यो आशा क्षणभरमै चकनाचुर भयो ।

त्रिचन्द्र कलेजका विद्यार्थी रहेका योगेन्द्र पढाइमै अब्बल थिए । छिमेकीहरूका अनुसार उनी सरल, भद्र र मिहिनेती स्वभावका युवक थिए, जसले टोलमै ‘उज्यालो भविष्यका प्रतिनिधि’का रूपमा पहिचान बनाइसकेका थिए। “गाउँले एक क्षमतावान् युवक गुमायो । उनी अरु युवाभन्दा गहिरो सोच र लगनशीलतामा धेरै अगाडि थिए,” कामदा माध्यमिक विद्यालयका शिक्षक पेशल न्यौपानेले बताए ।

परिवारजनका अनुसार योगेन्द्र राजनीतिक कार्यमा सक्रिय थिएनन् । जेन–जी आन्दोलनप्रति चासो राखे पनि उनी आन्दोलनकारी हुँदै सडकमा उत्रने स्वभावका थिएनन् । तर आन्दोलनको पहिलो दिनमै उनको ज्यान जाने घटनाले युवापुस्तामा विद्रोह, पीडा र रोष पैदा गरेको छ ।

सरकारले आन्दोलनका क्रममा मृत्यु भएका नागरिकलाई शहीद घोषणा गरेपछि जिल्लामा उनको सम्मानमा शालिक निर्माण गर्नुपर्ने आवाज स्थानीयस्तरमा उठिरहेको छ। शहीद परिवारहरू सरकारले उनीहरूको सपना पूरा गर्ने काममा अग्रसर होस् भन्ने चाहना राख्छन्। परिवारले पनि देशले योगेन्द्रका अधुरो सपना पूरा गरिदियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

न्यौपाने परिवारमा दुई छोरा र एक छोरीमध्ये जेठा योगेन्द्रको निधनले घरमा मात्र होइन, सम्पूर्ण समुदायमा गहिरो खालीपन पैदा गरेको छ। राजधानीमै बसोबास गर्दै तयारीमा रहेको योगेन्द्र गाउँ नफर्केको पनि करिब छ महिना भइसकेको थियो। अब, उनी फर्कने घर–दैलो उनका सम्झनाका कथाहरूले मात्र भरिएको छ।

देश सुधार्ने लक्ष्य बोकेर हिँडेका एक उज्यालो सम्भावना राजधानीकै संघर्षमय सडकमा निभिएको यो घटनाले देशभरका युवाहरूको भावनामा ठूलो प्रश्न उब्जाएको छ, “देशका लागि सपना देख्ने युवाको भविष्य के यस्तै अनिश्चित रहन्छ ?”

प्रतिक्रिया