शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको दुधौलीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु, चारजना गम्भीर घाइते

बुधवार , कार्तिक २६, २०८२

सिन्धुली, २६ कात्तिक – सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने चारजना गम्भीर घाइते भएका छन् । आज दिउँसो करिब १२ बजेर २५ मिनेट जाँदा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ना.प्र.१–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका ना.प्र.२–०१–००१ प २१४२ र म.प्र.०२–००६ प ५८४१को दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलनजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ । म.प्र.०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा लागेको आगोका कारण सो सवारी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा ट्राफिक सहितको टोली खटिएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पु¥याइएको थियो । अस्पतालले दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामीलाई उपचारको क्रममा अपराह्न १ बजेर १० मिनेटमा मृत घोषणा गरेको जनाएको छ ।

गम्भीर घाइतेहरूमा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउका २७ वर्षीय बुद्धी थारु, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन् । तीमध्ये तीनजनाको अवस्था बोल्न नसक्ने गरी गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो दुर्घटनाले पुनः राजमार्गमा बढ्दो सवारी चाप र लापरबाहीपूर्ण चालक व्यवहारप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीहरूको भनाइ छ। स्थानीयले उक्त राजमार्गमा गति नियन्त्रण र प्रहरी निगरानी कडा पार्न माग गरेका छन् ।

प्रतिक्रिया